Monday, April 13News That Matters

एकतापछि माधवले भने– परिवर्तनको संवाहक बनेर अब नेपालको मूल पार्टी यही बन्नेछ

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले विगतका कमीकमजोरीलाई सच्चाउँदै कम्युनिष्ट आन्दोलनलाई सशक्त रूपमा अघि बढाउनुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित पार्टी एकता कार्यक्रममा नवघोषित पार्टीका सहसंयोजक नेपालले जनतामा विश्वास दिलाउनका लागि विगतका कमीकमजोरीलाई सच्चाउँदै कम्युनिष्ट आन्दोलनलाई सशक्त रूपमा अघि बढाउनुपर्ने बताएका हुन् ।
उनले नेपाली कम्युनिस्ट पार्टी पुरानै पार्टीको स्वरूप नभएको भन्दै उनले परिवर्तनको संवाहक बनेर जनताको मनमा बस्नेगरि अघि बढ्नुपर्ने बताए ।

उनले परिवर्तनका शक्तिहरूसँग सहकार्य वा मोर्चा बनाएर संविधान र गणतन्त्रको रक्षा गर्नका लागि हातेमालो गर्न पहल गरिने उल्लेख गरे ।
बन्देज, आग्रह र पूर्वाग्रह नराखी सबैलाई समेट्ने गरी गोलबद्ध गरेर अघि बढ्न चाहेको भन्दै उनले देश विरोधी, संविधान विरोधीसँग कुनै सम्झौता नगर्ने स्पष्ट पारे । जेन–जी युवाहरूको मुद्दालाई पनि आफूहरूले प्राथमिकतामा राखेर अघि बढाउने उनको भनाइ छ ।

सहसंयोजक नेपालले नवयुवा जेन–जीका मुद्दालाई समेतसँगै लिएर जाने बताए । नेपाली कम्युनिस्ट पार्टीलाई नेपालको मूल कम्युनिष्ट पाटी बनाइने जिकिर गरे ।