दुनै–लासिक्याप खण्ड निर्माणमा ढिलाइ

काँक्रेविहार (सुर्खेत), २३ पुसः दुनै–लासिक्याप खण्डमा ठेक्काको म्याद सकिन लाग्दा १५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । त्रिदेशीय सडकका रूपमा विकास गर्ने लक्ष्य लिइएको भेरी करिडोरमा निर्माण व्यवसायीले समयमा काम नगर्दा अलपत्र परेको हो ।

दुनै–लासिक्याप खण्डमा काम नहुँदा सोभन्दा माथिको सडक निर्माणमा बाधा पुग्ने आयोजना प्रमुख सुनील रञ्जितकारले बताउनुभयो ।

पूर्वसहरी विकासमन्त्री धनबहादुर बुढाले जाजरकोटको तल्लुबगरबाट डोल्पाको सदरमुकाम दुनैसम्म कच्ची सडकमा यातायात सञ्चालनमा आए पनि तल्लुबाट त्रिपुरोकाटसम्म कालोपत्र गर्न स्रोत सुनिश्चित नहुँदा थप समस्या भएको बताउँदै स्रोत सुनिश्चितका लागि पहल भइरहेको जानकारी दिनुभयो ।

भेरी करिडोर सडक आयोजनाले सडक निर्माणलाई तीव्रता दिन अनुगमन गरिरहेको भन्दै निर्माण कम्पनीले म्याद सकिनलाग्दा पनि कामलाई गति दिन नसकेको आयोजना प्रमुख रञ्जितकारको भनाइ छ ।

“डोल्पाको सदरमुकामबाट माथिल्लो डोल्पाको मरिमसम्मको एक सय किलोमिटरमध्ये २५ किमी कच्ची सडक कटान गर्नुपर्ने छ । दुनै–लासिक्याप खण्डको काम छिटो भएमा सोभन्दा माथिल्लो भागमा नेपाली सेनाले जिम्मेवारी लिने सडकको काम अगाडि बढ्ने देखिन्छ”, उहाँले भन्नुभयो । अहिले २५ किमी सडक खण्डभित्र कटानको कामलाई तीव्रता दिन निर्माण व्यवसायीलाई ताकेता गरिएको प्रमुख रञ्जितकारले जानकारी दिनुभयो ।

माथिल्लो डोल्पाको भागमा पर्ने लासिक्याप–मरिम ७५ किमीमध्ये नेपाली सेनाले ४० किमी कटानको काम गरिसकेको आयोजना प्रमुख रञ्जितकारले जानकारी दिनुभयो । “दुनै–लासिक्याप खण्ड निर्माण सम्पन्न गर्न सूर्य–श्रेया–शान्ति देवी जेभीसँग एक वर्ष बाँकी छ”, उहाँले भन्नुभयो ।

विसं २०८२ पुस १६ गते निर्माण सम्पन्न गर्नेगरी विसं २०७८ चैत १७ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । तल्लो सडक निर्माण नगरी माथिल्लो खण्ड निर्माणमा सेनाले आवश्यक उपकरण लिन नसक्ने भएकाले तल्लो खण्डको काम एक वर्षभित्र सक्नुपर्ने प्रमुख रञ्जितकारले बताउनुभयो ।

सेनाले निर्माण गर्ने खण्डभन्दा दुनैबाट लासिक्यामअन्तर्गतको सडक यथाशीघ्र निर्माण भएमा माथिल्लो सडक निर्माण गर्न सहज हुने पूर्वमन्त्री बुढाले बताउनुभयो । भेरी करिडोर नामकरण गरेर राष्ट्रिय प्राथमिकतामा राख्नुका साथै त्रिदेशीय पारवहन सेवामा सजिलो हुने भएकाले छिन्चु–जाजरकोट–डोल्पा त्रिदेशीय मार्गलाई महत्वका साथ हेरिएको उहाँको भनाइ छ ।

यो करिडोर सम्पन्न भए सबैभन्दा छोटो त्रिदेशीय मार्ग बन्नेछ । कर्णेल विश्वबन्धु पहाडीको नेतृत्वमा रहेको नेपाली सेनाले भेरी करिडोरअन्तर्गतका जाजरकोट–डोल्पा सडक निर्माण विसं २०६५ मा सुरु गरेको थियो । ट्रयाक खुलेसँगै सेनाले एक सय १८ किमी सडक विसं २०७६ मा भौतिक पूर्वाधार मन्त्रालयलाई हस्तान्तरण गरिसकेको छ । दुनैबाट चीनको सिमानासम्म रहेको मरिम नाकासम्मको एक सय किमीमध्ये नेपालतर्फ ४० किमी निर्माण भइसकेको छ । दुनैबाट धोसम्म निर्माण हुन बाँकी छ ।

जाजरकोटबाट दुनैसम्म बेलिब्रिज निर्माण भएपछि यातायात सेवा सञ्चालनमा आएका छन् । देशको उत्तरी सीमासँग जोडिएको माथिल्लो डोल्पाका तीन गाउँपालिकाका नागरिकलाई नेपालतर्फ सडक सुविधा नहुँदा जिल्ला सदरमुकाम दुनैसम्म पुग्न हप्तादिनसम्म पैदालयात्रा गर्नुपर्ने बाध्यता छ ।

दुनैबाट धोसम्मको ५० किमी खण्ड चट्टानैचट्टानले बनेकाले यस खण्डमा पर्ने चट्टान विस्फोट गराउनुपर्ने अयोजना प्रमुख रञ्जितकारले बताउनुभयो । डोल्पा जडीबुटीको भण्डार भएकाले त्रिदेशीय मार्ग निर्माण भएपछि कर्णाली प्रदेशसहित मुलुकको आर्थिकस्तर वृद्धि हुने अपेक्षा लिइएको उहाँले उल्लेख गर्नुभयो ।

सडक समयमा निर्माण नहुँदा आफूहरूलाई सदरमुकामसम्म पुग्न पनि समस्या भइरहेको काइके गाउँपालिकाका अध्यक्ष अङ्कद रानाले बताउनुभयो । दैनिक उपभोग्य र निर्माण सामग्री ढुवानीमा समस्या भएको उहाँको भनाइ छ । भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा खण्डको विभिन्न स्थानमा पुल निर्माण नहुँदा थप सास्ती भइरहेको अध्यक्ष रानाले जानकारी दिनुभयो ।

क्याराभान हिराचन जेभीले विसं २०७७ माघ २ गते नलगाड र झुम्रेखोलामा पुल निर्माणको ठेक्का लिएको थियो । रायमाझी क्याराभान जेभीले सोही मितिमा भेरी करिडोरका मैदेखोला, त्रात्र खोला, ताक्सुगाडमा पुल निर्माणको जिम्मेवारी लिएको थियो ।

जाजरकोटबाट दुनैसम्म रहेको एक सय १८ मध्ये ५६ किमी यत्ति बिल्डसले तिव्रताका साथ काम गरिरहेको आयोजना प्रमुख रञ्जितकारले जानकारी दिनुभयो । पुलसहित बाँकी खण्डमा कामलाई तीव्रता दिन सम्बन्धित निर्माण व्यवसायीलाई ताकेता दिँदै आइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

शीतलहरबाट दलित मुसहर परिवार समस्यामा

शीतलहरबाट दलित मुसहर परिवार समस्यामा

बरहथवा (सर्लाही), १२ माघः चिसो र शीतलहरको जोखिममा यहाँका विपन्न दलित मुसहर परिवार परेका छन् । अत्यधिक चिसोले मुसहर परिवार केही दिन...
कर्णाली प्रदेशसभामा रिक्त संसदीय समितिले पाए पूर्णता

कर्णाली प्रदेशसभामा रिक्त संसदीय समितिले पाए पूर्णता

कर्णाली, १० माघ : दश महिनादेखि नेतृत्वविहीन अवस्था रहेका कर्णाली प्रदेशसभाका तीन संसदीय समितिले पूर्णता पाएका छन् । गत वैशाखदेखि न...
आवश्यकताअनुसार औषधि उपलब्ध गराउनेगरी व्यवस्था गर्नुपर्छ : मन्त्री पौडेल

आवश्यकताअनुसार औषधि उपलब्ध गराउनेगरी व्यवस्था गर्नुपर्छ : मन्त्री पौडेल

धरान (सुनसरी), १० माघ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आवश्यकताअनुसार अस्पताल र फार्मेसीबाट औषधि उपलब्ध गराउनेगरी व...
प्रसारण लाइन अभावले उत्पादित विद्युत् खेर जाने अवस्था आउँदैन : मन्त्री खड्का

प्रसारण लाइन अभावले उत्पादित विद्युत् खेर जाने अवस्था आउँदैन : मन्त्री खड्का

काठमाडौँ, १० माघ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रसारण लाइनको अभावले उत्पादित विद्युत् खेर जाने अवस्था नआउने बता...