Tuesday, February 17News That Matters

आवश्यकताका आधारमा संविधान संशोधन गर्नुपर्छ : उपसभापति खड्का

लेखनाथ (कास्की), ३ माघ : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आवश्यकताका आधारमा संविधान संशोधन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उपसभापति खड्काले वर्तमान सरकार गठनका बेला गरिएको सातबुँदे सम्झौतामा संविधान संशोधनको विषय पनि उल्लेख भएकाले संविधानको मूल मर्म नबिग्रने गरी संविधान संशोधन गर्नुपर्ने बताउनुभयो । राजनीतिक स्थिरता र समृद्धि हासिल गर्न संविधान संशोधन गर्नुपर्ने उहाँको भनाइ थियो ।

“संविधान निर्माण गरेको नौ वर्ष पूरा भएको छ, संविधान बनाउने बेलामा पनि आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने विषय उल्लेख भएको हुँदा त्यसै अनुसार संशोधन गर्ने दिशामा कांग्रेस अग्रसर छ”, उपसभापति खड्काले भन्नुभयो, “मिश्रित निर्वाचन प्रणालीमा कुनैपनि दलको बहुमत नआउने र संसद्को अङ्कगणितका कारण साना पार्टीलाई सरकारको नेतृत्व दिनुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ ।”

नेपाली कांग्रेसकै नेतृत्वमा संविधान निर्माण जारी भएको जिकिर गर्दै उपसभापति खड्काले संविधान संशोधन गर्न नेतृत्वदायी भूमिका पनि कांग्रेसले नै निर्वाह गर्ने बताउनुभयो । सङ्घीय कानुनहरु छिटो निर्माण गरेर प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्ने उहाँको भनाइ थियो । सुशासनको जग बसाल्न र आर्थिक समृद्धिका लागि नेपाली कांग्रेसले पहल गर्ने उहाँले बताउनुभयो । भ्रष्टाचारको अन्त्य, सुशासनमार्फत देशको समृद्धि नागरिकको चाहना रहेकाले सरकारले यिनै विषयलाई ध्यान दिएर अगाडि बढ्नुपर्ने उपसभापति खड्काले बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले प्रजातन्त्रमा नेपाली जनता मालिक हुने भएकाले उनीहरुकै सेवामा पार्टीका नेता तथा कार्यकर्ता लाग्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *