‘विद्यालयले प्रयोगात्मक शिक्षामा जोड दिन जरुरी’

बेलबारी (मोरङ), ३ माघ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रयोगात्मक पठनपाठन र सिकाइले विद्यार्थीलाई अब्बल बनाउने भएकाले विद्यालयले प्रयोगात्मक शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ ।

मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित बेलबारी नगरपालिकाको आयोजनामा भएको प्रथम विद्यालय तह शैक्षिक प्रदर्शनीको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले बेलबारीको खेलमैदान, विकास निर्माणलगायत विभिन्न क्षेत्रको विकासमा प्रदेश सरकार लागिपर्ने बताउनुभयो ।

तीन दिनसम्म चल्ने उक्त प्रदर्शनीमा बेलबारी नगरपालिकाका २८ विद्यालय सहभागी छन् । सो अवसरमा मुख्यमन्त्री कार्कीले विभिन्न विद्यालयले राखेको प्रदर्शनी कक्षको अवलोकन गर्नुभएको थियो । प्रदर्शनीमा चित्रकला कार्यशाला तथा प्रतियोगिता, भाषा साहित्य प्रदर्शनी, राष्ट्रिय लोक नृत्य प्रतियोगिता, सामाजिक, इतिहास तथा भूगोलसम्बन्धी प्रदर्शनी, खाना तथा युवा उद्यमशीलता प्रदर्शनी, सामूहिक छलफल, गणित तथा विज्ञान प्रदर्शनी, नाटक प्रदर्शनी, विभिन्न विद्यालयका सिर्जनात्मक तथा सांस्कृतिक प्रदर्शनी आयोजना गरिने बेलबारी नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *