किएभमा गरिएको रूसी आक्रमणका कारण चार जनाको मृत्यु

युक्रेनको राजधानी किएभमा शनिबार भएको रुसी आक्रमणमा परी चार जनाको मृत्यु भएको युक्रेनका विदेशमन्त्रीले बताएका छन् ।

आक्रमणमा परी कम्तीमा तीन जना घाइते भएका छन् भने दक्षिणी शहर जापोरिजियामा राति भएको अर्को आक्रमणमा परी कम्तीमा १० जना घाइते भएको क्षेत्रीय गभर्नरले जानकारी दिएका छन् ।

किएभलाई अक्सर रूसी ड्रोन र क्षेप्यास्त्रहरूद्वारा लक्षित गरिएपनि राजधानीमा विरलै मृत्युहरू हुने गरेका छन् किनकि राजधानीलाई सुरक्षित गर्न युक्रेनी वायु रक्षा प्रणालीद्वारा अत्यधिक संरक्षित गरिएको छ । देशका अन्य स्थानहरूको तुलनामा किएभमा आक्रमणहरू रोक्न युक्रेनी सुरक्षा संयन्त्र सक्षम छ।

किएभको सैन्य प्रशासनका प्रमुख टिमुर स्काचेन्कोले राजधानीको एक केन्द्रीय क्षेत्रतर्फ सङ्केत गर्दै टेलिग्राम पोस्टमा भन्नुभएको छ, “शेभचेन्किभ्स्की जिल्लामा चार जनाको मृत्यु भइसकेको छ ।”

युक्रेनका विदेशमन्त्री एन्ड्री सिबिगाले सामाजिक सञ्जालमा आक्रमणप्रति आक्रोस व्यक्त गर्दै लेख्नुभएको छ, “पुटिन शान्ति होइन, युद्ध चाहन्छन् भन्ने यो अर्को प्रमाण हो ।”

उहाँले भन्नुभयो, “अधिकतम आर्थिक र सैन्य दबाबका माध्यमबाट न्यायपूर्ण शान्ति स्वीकार्न बाध्य पार्नुपर्छ ।”

युक्रेनी वायु सेनाले दुई वटा इस्केन्डर ब्यालेस्टिक क्षेप्यास्त्र र २४ वटा रुसी ड्रोनलाई खसालेको जनाएको छ ।

तर खसालिएका क्षेप्यास्त्रहरू किएभको मध्य शेभचेन्किभ्स्की जिल्लामा ‘खसेको’ र औद्योगिक भवन, मेट्रो र आवासीय भवनसहितका क्षेत्रमा क्षति पुगेको र अस्थायी रूपमा स्थानीय पानी आपूर्तिमा क्षति पुगेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *