दुधकोशी चुहार–फलाम ढुङ्गा–घोरेटार सडक कालोपत्र सुरु

टक्सार (भोजपुर), २१ माघ : दुधकोशी चुहार–फलाम–ढुङ्गा–घोरेटार सडक स्तरोन्नति सुरु गरिएको छ ।

उक्त सडक निर्माणको जिम्मा एमसि–एसईआइपिएल–एनसी जेभी, काठमाडौँले पाएको छ । सम्झौताअनुसार २२ दशमलव सात किलोमिटर लामो सडक स्तरोन्नतिसहित कालोपत्र गरिने ग्रामीण सम्पर्क सुधार आयोजना, आयोजना कार्यान्वयन एकाइ, कोशी प्रदेश, विराटनगरले जनाएको छ ।

परियोजनाको लागत करसहित कूल रु ७२ करोड ९८ लाख १६ हजार रहेको छ । परियोजना सम्पन्न भएपछि जिल्लाको यातायात सुविधामा सहज हुने अनुमान गरिएको छ । हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, निर्माण व्यवसायीका प्रतिनिधि अर्जुन दाहाल तथा स्थानीय बासिन्दाको उपस्थितिमा किराती नाक्छुङ कर्णबहादुर राईले किराती मुन्दुमअनुसार पूजापाठ गरी आज काम शुभारम्भ गर्नुभयो ।

हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले यो सडकले हतुवागढीलाई सहरसँग जोड्न मद्दत गर्ने र समृद्ध हतुवागढी निर्माणमा टेवा पुग्ने बताउनुभयो । अध्यक्ष राईले भन्नुभयो, “यस परियोजनाले जिल्लाको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्छ, जिल्लाको दक्षिणी क्षेत्रको विकासमा टेवा पुग्छ ।”

निर्माण कम्पनीका प्रतिनिधि अर्जुन दाहालले कम्पनीले चार स्थानबाट एकसाथ काम गर्ने योजना बनाएको बताउनुभयो । तोकिएको समयमा काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *