जिम्मेवार पत्रकारिताका लागि रासस पहिलो श्रेणीमा

बनियानी (झापा), ५ फागुनः जिम्मेवार पत्रकारिताका लागि राष्ट्रिय समाचार समिति (रासस) पहिलो श्रेणीमा रहेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् ।

राससको ६४औँ वार्षिकोत्सवको अवसरमा आज यहाँको भद्रपुरमा आयोजित ‘जिम्मेवार पत्रकारिता र राससको भूमिका’ विषय कार्यक्रममा वक्ताहरूले यस्तो बताएका हुन् । कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेलले नेपाली मिडियाका लागि रासस अनिवार्य र अपरिहार्य रहेको बताउनुभयो । उहाँले नेपालका साना–ठूला सबै मिडियाले ५० प्रतिशतभन्दा बढी समाचार राससकै प्रयोग गर्ने गरेको उल्लेख गर्दै यसरी समाचार प्रयोग गर्दा स्रोत खुलाउनुपर्नेमा उहाँले जोड दिनुभयो । पोखरेलले आमनागरिकको अपेक्षाअनुसार आफ्ना समाचार उत्पादन गर्नुपर्नेमा बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ झापा शाखाका उपाध्यक्ष सुब्रत न्यौपानेले राससजस्तो प्रभावकारी माध्यमले उत्पादन गर्ने समाचारमा विविधतालाई थप बढावा दिन आवश्यक रहेको बताउनुभयो । उहाँले सामाजिक सञ्जालमा आउने भ्रामक समाचारलाई चिर्न राससको भूमिका महत्वपूर्ण हुने भन्दै समयसापेक्ष वेबसाइट परिमार्जन, अनुसन्धानमूलक समाचारमा जोड र साना मिडियालाई सहुलियत दरमा समाचार सेवा उपलब्ध गराउनुपर्ने सुझाव दिनुभयो ।

महासङ्घका शाखाका पूर्वअध्यक्ष एवं अग्रज पत्रकार गोविन्दचन्द छेत्रीले झापामा २०२५ सालदेखि राससले सेवा प्रवाह गर्दै आएको स्मरण गर्दै यसको समाचार विश्वसनीय हुने विश्वास अझै रहेको बताउनुभयो । “म धेरैतिर धेरै किसिमका समाचार हेर्छु, साँचो हो कि झुटो हो छुट्याउनै सकिँदैन”, उहाँले भन्नुभयो, “तर राससले त्यस्तो भ्रमलाई चिर्ने गरेको छ । यो विश्वासलाई कायम राख्दै थप सुधारको खाँचो छ ।”

महासङ्घका पूर्वअध्यक्ष मोहन काजी, पूर्वअध्यक्ष तारामणि सापकोटा, प्रेस चौतारी झापा अध्यक्ष प्रदीप परियार, प्रेस युनियन झापा अध्यक्ष रेजिना गौतम, फोनिज झापाका अध्यक्ष अर्जुन राजवंशी, भद्रपुर प्रेस क्लबका अध्यक्ष राजबाबु शङ्कर, पत्रकार लेखनाथ परदेशी, देवेन्द्र किशोर ढुङ्गाना, रेवतीराज घिमिरे, अर्जुन कार्की, द्रोण अधिकारी, रमा दाहाल, खगेन्द्र भण्डारी, राजकुमार ओलीलगायतले वार्षिकोत्सवको शुभकामना दिँदै राससका समाचार अझ जनमुखी हुनुपर्नेमा जोड दिनुभयो । मिडिया क्षेत्र सङ्कटमा रहेकाले राससले सहुलियत दरमा आफ्ना सेवा दिनुपर्ने उहाँहरूको भनाइ थियो ।

रासस भद्रपुर कार्यालय प्रमुख दीपक चन्दको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन राससकर्मी अम्बिका भण्डारीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *