‘मानवमा आत्मिक जागरण अपरिहार्य’

गण्डकी, १४ फागुन : गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले मानवमा आत्मिक जागरण अपरिहार्य भएको बताउनुभएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, पोखराले शिवरात्रिको अवसरमा आयोजना गरेको महाशिवरात्रि महोत्सव, प्रवचन, शिवध्वजारोहण एवं स्नेह मिलन समारोहको उद्घाटन गर्दै उहाँले आत्मिक जागरणले मानवलाई समृद्धितर्फ उन्मुख गराउने बताउनुभयो ।

विश्वमा शान्ति र सर्वपक्षीय समृद्धिको लक्ष्यका लागि मानवमा आत्मिक जागरण अपरिहार्य रहेको बताउँदै उहाँले अध्यात्म, ध्यान र योगले मानव कल्याण हुने उल्लेख गर्नुभयो । मानवमा शान्त र सकारात्मक मन, सवल र शुद्ध बुद्धि एवं श्रेष्ठ र दिव्य संस्कार निर्माणका लागि ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको ठूलो योगदान गरेको प्रदेश प्रमुख भट्टको भनाइ छ ।

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय आध्यात्मिक शैक्षणिक संस्थाका रुपमा रहेको बताउँदै उहाँले मानव मूल्यहरुको पुनःस्थापनाद्वारा मूल्यनिष्ठ समाजको निर्माणार्थ यसले काम गरिरहेको पाएको उल्लेख गर्नुभयो । उहाँले विश्वका डेढ सयबढी देशमा आफ्ना सेवा केन्द्रको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउनेकार्य तथा तनावमुक्त जीवन, नैतिक मूल्य एवं मानवीय संस्कारको निर्माण गर्न विशेष भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।

महाशिवरात्रिको अवसरमा नेपालीको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दै प्रमुख भट्टले शिवोत्पत्ति भएको विश्वास गरिने मानसखण्डको भू–भाग, शिवको विचरणस्थल मानिने हिमवत्खण्डको मुख्य भूगोल एवं निवासस्थल मानिने पवित्र पाशुपत क्षेत्र नेपालसँग रहनु हाम्रा लागि गौरवको विषय रहेको बताउनुभयो ।

गण्डकी प्रदेशसभा सदस्य भीम कार्कीले संस्कार र संस्कृति हाम्रो पहिचान भएकाले यसलाई भुल्न नहुने आवश्यकता औँल्याउनुुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *