काठमाडौँ, १७ चैतः राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले रासस प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरेर समाचार सेवा विस्तारमा कटिबद्ध रहेको बताउनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज बसेको विषयगत समिति (सञ्चार तथा सूचना प्रविधि क्षेत्र) को बैठकमा उहाँले राष्ट्रिय हितमा सञ्चालित राससलाई सबै तहका निकायले अपनत्व महसुस गरेर सहयोग र संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । “राससले राष्ट्रिय हितमा सूचना सेवा प्रदान गर्छ भने रासस सङ्घको कि प्रदेशको ? द्विविधा हटाउन जरूरी छ”, उहाँले भन्नुभयो, “हामी तीन तहकै सरकारसँग सहकार्य गरेर काम गर्न तयार छौँ ।”
कार्यकारी अध्यक्ष झाले सुदूरपश्चिम प्रदेशमा कार्यालय निर्माण गर्ने विषयमा पटकपटक पत्राचार र जानकारी गराए पनि त्यसलाई महत्वका साथ नलिएको गुनासो व्यक्त गर्नुभयो । “हामी प्रदेश सरकारसँग सहकार्य गर्न तयार छौँ । समाचारका माध्यमबाट प्रदेशका गतिविधि प्रचार गर्न हामीले भूमिका खेल्छौँ । प्रदेश सरकारले पनि अत्यावश्यक पूर्वाधारमा सहयोग गर्नु¥यो भनेर पहल गरेका छौँ, पत्र पठाएका छौँ तर कुनै प्रतिक्रिया आएको छैन । राससलाई बलियो बनाउने सन्दर्भमा प्रदेश सरकारले जिम्मेवारी लिन प्रत्येक प्रदेश सरकारलाई अनुरोध गर्छु”, उहाँले भन्नुभयो ।
कार्यकारी अध्यक्ष झाले मातृभाषा सञ्चालन कोष बनाउन चाहेको तर कुनै पनि प्रदेश सरकारले सम्बोधनका लागि चासो देखाउन नसकेको बताउनुभयो । यसैगरी उहाँले अरू प्रदेशमा आफ्नो कार्यालय भवन भए पनि हेटौँडा र सुर्खेतमा हालसम्म रासस कार्यालय नभएकाले प्रदेश सरकारसमक्ष सहकार्यका लागि आग्रह गर्नुभयो । “हामीले यी दुवै स्थानका प्रदेश सरकालाई आग्रह गरिरहेका छौँ । सुदूरपश्चिम प्रदेशले रु ७० लाख विनियोजन गरेको छ तर यति रकमले भवन बन्ने अवस्था छैन । बहुवर्षीय स्रोत सुनिश्चितताका लागि पहल गरिरहेका छौँ, यसको सम्बोधन हुन जरुरी छ”, अध्यक्ष झाले बताउनुभयो ।