राज्यका निकायमा मधेसी समुदायको सहभागिता सुनिश्चित गरिनुपर्छ : दीपक कार्की

काठमाडौँ, १६ चैत : सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएपछि देश जुन रूपमा अगाडि बढ्नुपर्ने थियो, त्यो गतिमा बढ्न सकेको छैन । राजनीतिक दलहरूले सही तरिकाले काम गर्न नसकेका कारण जनतामा नैराश्यता छ । संसद्ले जति कानुन बनाउनुपर्ने हो, त्यति बनाउन सकेको छैन । संसद् भनेको कानुन निर्माण गर्ने र जनताका सवाललाई सरकारसम्म पुर्याउने थलो हो । तर संसद् सरकार बनाउने र ढाल्ने थलोजस्तो भएको छ । संसद्मा राजनीतिक दल एकले अर्कालाई अरोप लगाउने तथा झगडा गर्ने कार्य जारी छ ।

मुख्य ठूला दलहरु नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले संविधानको पूर्ण कार्यान्वयन गर्न नसक्दा अहिले देशमा यो अवस्था आएको छ । प्रदेश र स्थानीय सरकारलाई अधिकारसम्पन्न बनाउनुपर्ने काम अहिलेसम्म हुनसकेको छैन । पालिकामा अधिकृत नहँदा कर्मचारीले तलब पाउन सकेका छैनन् । स्थानीय तहका शिक्षकले तलब पाउन सकेका छैनन् । कर्मचारी र शिक्षकले कम्तीमा आफूले काम गरेको पैसा पाउनुपर्छ ।

जनता समाजवादी पार्टीको पहिलेदेखिको एजेण्डा भनेको संविधान संशोधन गरेर मधेसी समुदायलाई समेट्नुपर्ने भन्ने हो । संविधान संशोधन गरेर सर्वमान्य बनाउनुपर्छ । संविधान संशोधन गरी अधिकारसम्पन्न सङ्घीयता बनाउनुपर्छ । संविधानमा सुरक्षाको जिम्मा प्रदेश सरकारलाई छ, तर अधिकार छैन । संविधान संशोधन गरेर मधेसी समुदायलाई जनसङ्ख्याका आधारमा राज्यको नीति निर्माण तहमा सहभागी गराइनुपर्छ । उनीहरूको जनसङ्ख्याका आधारमा कार्यपालिका, न्यायापालिका र व्यवस्थापिकामा सहभागिताको सुनिश्चितता संवैधानिक रूपमा हुुनुपर्छ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कानुसार २२.२२ प्रतिशत पूर्ण मधेसी समुदायको जनसङ्ख्या छ । त्यसका आधारमा सङ्घीय मन्त्रिपरिषद्मा उनीहरूको सहभागिता सुनिश्चित गर्नुपर्छ । मधेसी समुदायका निम्ति छुट्टै नीति तथा कार्यक्रम र बजेटको व्यवस्था गर्नुपर्छ ।

धार्मिक दृष्टिकोणले धनुषा सम्पन्न छ । सरकारले धार्मिक पर्यटन र प्राकृतिक पर्यटनलाई जोड दिनुपर्छ । धार्मिक पर्यटनको निम्ति जनकपुर महत्त्वपूर्ण स्थान हो । यसको प्रचारप्रसार हुनसकेको छैन । तराईमा सडकको पनि विकास हुनसकेको छैन । तराई कृषिका लागि सिँचाइ अभाव छ । मल र बीउ अभाव छ । सरकारले त्यसतर्फ ध्यान दिन जरुरी छ । जानकी अर्थात् सीताको यो मन्दिर उनको जन्मस्थल जनकपुरमा छ । मुगल शैलीमा बनाइएको मन्दिरलाई कलाको उत्कृष्ट नमूना मानिन्छ । जनकपुरमा धेरै पोखरी छन् । जलपर्यटनको दृष्टिकोणले पनि निकै महत्त्वपूर्ण देखिन्छ । यहाँका विभिन्न सागरहरूलाई जनकपुरको आयस्तरमा वृद्धि, रोजगारीमा वृद्धि तथा पर्यटकलाई जलविहार गर्न सकिने गरी विकास गर्न सकिन्छ । प्राचीन मिथिलाको राजधानी जनकपुरमा अवस्थित जानकी मन्दिर विश्वभरका हिन्दूको आस्थाको केन्द्र हो । हिन्दू धर्ममा लोकप्रिय रहेको रामायणकी सीताको जन्मस्थलमा निर्मित यो मन्दिर भव्य र आकर्षक छ । तर यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सरकारको इच्छाशक्ति हुनुपर्छ ।

सङ्घीयतालाई अझै बलियो र सुदृढ बनाउन सङ्घीय सरकारले प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारी दिनुपर्छ । सुशासनका निम्ति सबैभन्दा पहिला अख्तियार दुरुपयोग अनुन्धान आयोगलाई बलियो बनाउनुपर्छ । अख्तियारले सबै भ्रष्टाचारीलाई कारबाही गर्न सक्नुपर्छ । अख्तियार स्वतन्त्र हुनुपर्छ । सुशासनका निम्ति दलका नेताको आचरण परिवर्तन हुनुपर्छ । सँगै कर्मचारीको पनि आचरण सही हुनुपर्छ । सुशासन सरकारले ‘भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्न’ भन्ने नाराले मात्र हुँदैन । व्यावहारिक रूपमा त्यसको कार्यान्वयन हुनुपर्छ ।

अहिले देशका धेरै उद्योग बन्द छन् । विराटनगर जुटमिल, जनकपुर चुरोट कारखाना, गोरख काली टायर र वीरगञ्जको चिनी कारखानालगायत धेरै उद्योग बन्द भएको अवस्था छ । सयौँ उद्योग÷कलकारखाना बन्द भएको अवस्थामा युवालाई रोजगारी सरकारले कसरी दिनसक्छ ? युवा पलायन रोक्नका लागि सरकारले बन्द भएका उद्योगलाई पुनःसञ्चालन गर्नुपर्ने हुन्छ । सरकारले भन्दा बढी रोजगारी निजी क्षेत्रले दिएको छ । निजी क्षेत्रको उद्योग÷कलकारखानाले रोजगारी दिएका छन् । त्यसैले दलका नेताले जनतालाई झुटो आश्वासनमात्र दिएर हुँदैन । सरकार र नेताहरूले जनताको पक्षमा काम गरेर देखाउनुपर्छ । सरकारले बेरोजगारी अन्त्य गर्ने कार्ययोजना बनाउनुपर्छ ।

देशको अवस्था परिवर्तन गर्न नेतृत्व सही हुनुपर्छ । देशको निम्ति काम गर्ने हुटहुटी हुनुपर्छ । अन्य देशका सरकार पनि पार्टीबीच गठबन्धन गरेर बनेका छन् । उनीहरूको सरकार पाँच वर्ष टिक्छ । तर हाम्रोमा एक वर्षमै ढल्छ । यो सबै नेतृत्वपङ्क्तिको दोष हो । हामीकहाँ राजनीतिक संस्कारको विकास हुनसकेको छैन ।

हाम्रो पार्टीले छ महिनासम्म ‘जनतासँग जसपा’ भन्ने अभियान सञ्चालन गरेको थियो । अब राजमार्ग केन्द्रित अभियान सञ्चालनको तयारी भइरहेको छ । पार्टीको जिम्मेवारीसँगै सांसद भएकाले अब संविधानमा मधेसी समुदायको अधिकार सुनिश्चित गर्नेतर्फ मेरो भूमिका हुन्छ । जनताका सवाललाई संसद्मार्फत सरकारसम्म पुर्याउने काम पनि हुन्छ । त्यसैगरी संविधानअनुसार कानुन निर्माणमा मेरो भूमिका हुन्छ । धनुषा जिल्लाको विकासको निम्ति पनि मेरो पहल हुने छ ।

प्रतिनिधिसभामा सांसद दीपक कार्कीको परिचय

जनता समाजवादी पार्टी, नेपालका उपमहासचिव दीपक कार्की प्रतिनिधिसभाको सांसद हुनुहुन्छ । उहाँ प्रतिनिधिसभा निर्वाचन, २०७९ मा धनुषा–१ बाट निर्वाचित हुनुभएको हो । विसं २०३६ देखि नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गर्नुभएका सांसद कार्कीले २०७४ सालमा कांग्रेस पार्टी परित्याग गरी तत्कालीन सङ्घीय समाजवादी पार्टी (फोरम) नेपालमा प्रवेश गर्नुभएको थियो । उहाँ २०८० सालमा वन तथा वातावरण राज्यमन्त्री हुनुभएको थियो ।
(प्रतिनिधिसभाका सांसद कार्कीसँग राससका समाचारदाता सुशील दर्नालले गर्नुभएको कुराकानीको सम्पादित अंश)

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

फ्रान्स युक्रेनका कारण ‘तेस्रो विश्वयुद्ध’ चाहँदैन : म्याक्रोन

राष्ट्रपति इमानुएल म्याक्रोनले मङ्गलबार फ्रान्सले युक्रेनमा रुसको आक्रमणका कारण ‘तेस्रो विश्वयुद्ध’ सुरु गर्न नचाहेको बताउनुभएको...

Pakistan, India expels each other’s diplomats

Pakistan and India each announced on Tuesday the expulsion of one diplomat from the other country, with both sides accusing the ...

Uttar Pradesh: All zoos, safari parks temporarily shut after tigress ‘Shakti’ dies of Avian Influenza

Uttar Pradesh: All zoos and safari parks in Uttar Pradesh have been temporarily closed as a precautionary measure following the ...

“Only a fool would not accept…”: Trump on Qatar’s gift of Boeing 747

Following reports of Qatar's gifting of a luxury Boeing 747-8 to the US, President Donald Trump emphasised that the aircraft wil...