जिब्रो छेड्ने जात्राको पूर्वतयारीः हात नभएको लिङ्गो उठाइयो

भक्तपुर, ३१ चैतः भक्तपुरमा आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राको अवसरमा आज बिहान ११ बजे भक्तपुरको पोटरीस्क्वायरस्थित कुमाले टोलमा हात नभएको लिङ्गो उठाइएको छ । प्रत्येक वर्ष चैत मसान्तका दिन स्थानीय भक्तपुरको कुमाले टोलमा बिहानै उठाइने हात नभएको लिङ्गो आज विधिपूर्वक पूजा गरी उठाइएको हो ।

बिस्केटजात्राको अवसरमा हरेक वर्ष चैत मसान्तको दिन उठाइएको हात नभएको लिङ्गो जात्राको अन्तिम दिन वैशाख ५ गते बिहान ढाल्ने गरिन्छ । कुमाले टोलमा बिहान लिङ्गो उठाएपछि दिउँसो भैरव र भद्रकालीको पूजा गरी रथलाई साँझ भेलुखेलमा हातसहितको नाग–नागिनीको प्रतीक रहेको तान्त्रिक विधिद्वारा तयार पारिएको इन्द्रध्वजासहितको ५५ हात लामो लिङ्गो उठाउने गरिन्छ ।

यसलाई विश्वप्रसिद्ध लिङ्गो जात्रा भन्ने गरिन्छ । यो लिङ्गो भने वैशाख १ गते दिनभर जात्रा गरेर साँझ विधिपूर्वक ढाल्ने गरिन्छ । यता मध्यपुरथिमि–८ बोडेस्थित महालक्ष्मी मन्दिर अगाडि पनि आज बिहान लिङ्गो उठाइएको छ । मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठको उपस्थितिमा जनप्रतिनिधिहरु समेतको सहभागितामा स्थानीयले महालक्ष्मी मन्दिर अगाडि लिङ्गो उठाएका हुन् ।

तान्त्रिकविधि पूरा गरी बिहान स्थानीयले लिङ्गो उठाएपछि थिमि क्षेत्रको जात्रा एवं पर्वको विधिवतरूपमा सुरु हुने, मठमन्दिरमा मेला लाग्ने र भोज सुरु हुने परम्परा रहेको स्थानीय दिलकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।

“महालक्ष्मी मन्दिर अगाडि लिङ्गो उठाएर जिब्रो छेड्ने जात्राको साइत गरिएको छ । यस मन्दिर अगाडि लिङ्गो उठाएपछि जिब्रो छेड्ने जात्रा पनि सुरु भएको मानिन्छ”, उहाँले भन्नुभयो । यहाँ आज नै कुमारीको रथ लहीटोलमा पु¥याइन्छ भने राति करिब ९ बजे निलबारही जङ्गलबाट ल्याएको दाउरा बालेर पूजा गरेपछि २८ वर्षीय सुजन वांग श्रेष्ठले व्रत प्रारम्भ गरी वैशाख २ गते जिब्रो छुड्नुहुनेछ ।

आज व्रत सुरु भएपछि जिब्रो छेड्ने व्यक्तिले केही खान नहुने, महिलासँग बोल्न तथा छुन नुहने, कुकुर, कुखुरा, बिरालोलगायतका पशुपक्षीलाई छुन नुहने चलन छ । मध्यपुरथिमिमा बिस्केट जात्राको अवसरमा सिन्दुरजात्रा विष्णुवीर जात्रा, रात्रिको चान्हेसिया जात्रा, सिद्धिकाली जात्रालगायतका जात्रा एवं पर्व स्थानीयले भव्यरूपमा मनाउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *