आफ्नै कीर्तिमान तोड्न सगरमाथातिर लम्किँदै कामीरिता

काठमाडौँ, ४ वैशाखः विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण साहसिक मात्रै नभई जोखिमपूर्ण र संवेदनशील यात्रा हो । हिउँको ढिस्को पन्छाएर ढुङ्गाको पहरो छिचोल्दै चुचुरोमा पुग्नु आफैँमा साहसिक र चुनौतीपूर्ण कार्य हो । एकदुई पटक हैन ३०औँ पटक यस्तो जोखिमपूर्ण यात्रा गर्नु वा सगरमाथाको शिखर चुम्नु चानचुने कुरा होइन । विश्वविख्यात कीर्तिमानी कामीरिताका लागि भने यो काम ‘पानीको पँधेरो’ जस्तै भएको छ । उहाँ एकै ‘सिजन’मा दुई पटकसम्म सगरमाथाको चुचुरोमा पुगरेर आफ्नै ‘रेकर्ड ब्रेक’ गर्ने भाग्यमानी आरोही हुनुहुन्छ ।

कामीरिताले यसपटकको वसन्तयाममा ३१औँ पटक सगरमाथा आरोहण गरेर यसअघि आफ्नै नाममा रहेको विश्वकीतिर्मान तोड्न लाग्नुभएको छ । उहाँले सन् २०२३ को आफ्नै नामको २८ पटकको रेकर्ड तोड्दै सन् २०२४ मा ३०औँ पटक रेकर्ड दर्ज गर्नुभएको थियो । पुनः त्यो रेकर्ड तोड्न ३१औँ पटक सगरमाथाको शिखर चुम्न केही दिनपछि त्यसतर्फ जाने शेर्पाले राससलाई जानकारी दिनुभयो । “सगरमाथा आरोहणका लागि एक÷दुई दिनपछि जाँदैछु, यो ३१ पटकको आरोहण हो । कतिपटक सगरमाथा चढ्ने भन्ने विषय आरोहण क्षेत्रको मौसम र अवस्थाले निर्धारण गर्छ”, उहाँले भन्नुभयो ।

आरोही शेर्पाले सगरमाथा आरोहण कुनै रेकर्डका लागि नभई आफ्नो नियमित काम भएको जिकिर गर्नुभयो । उहाँ सेभेनसमिट ट्रेक्स प्रालिमार्फत भारतीय सेनाको टोलीलाई लिएर यसपटक सगरमाथा आरोहणमा जान लाग्नुभएको हो ।

एकतिसौँ पटक जीवनको प्रवाह नगरी जोखिमपूर्ण सगरमाथा यात्रा गर्ने आरोहीको सामाजिक सुरक्षाका लागि भने राज्यले ध्यान दिनुपर्ने उहाँको भनाइ छ । शेर्पाले हिमाल सफाइका लागि बजेट र जनशक्ति व्यवस्थापन गरिनुपर्ने खाँचो औँल्याउनुभयो । यसका साथै ३०औँ पटक सगरमाथाको चुचुरोमा पुग्दा आरोही शेर्पाले जलवायु परिवर्तनका कारण हिमाल पग्लिएकामा चिन्ता लागेको बताउनुभयो ।

सगरमाथामा पहिलोपटक मानवपाइला टेकिएको ७२ वर्षको अवधिमा ३०औँ पटक सफल आरोहणको कीर्तिमान कायम गर्ने उहाँको रेकर्ड कसैले तोड्न सकेको छैन तर प्रकृतिले भने हरेक पटकजसो सगरमाथाको प्राकृतिक स्वरुपको ‘रेकर्ड’ तोड्दे गएको आफूले महसुस गरेको शेर्पाले सुनाउनुभयो । “मेरो रेकर्ड कसैले तोड्न सकेको छैन । सगरमाथा आरोहणमा विश्वकीर्तिमानी कायम गर्ने एक्लो प्रतिस्पर्धीका रूपमा छु, यस हिसाबले खुसी छु तर सगरमाथाको सुरुको स्वरूपमा अहिले निकै बद्लाव आएको छ । हरेक पटक आरोहण गर्दा केही न केही समस्या देखिरहेको आभाष गरेको छु । यसले खिन्न बनाइरहेको छ”, उहाँले भन्नुभयो ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेका ५५ वर्षीय कामीरिता कुशल पर्वतारोही पथप्रदर्शकसमेत हुनुहुन्छ । सन् १९९४ मे १३ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेका उहाँका नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ । अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बुकै पासाङदावा शेर्पाले २८ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउनुभएको थियो ।

कामीरिताले सगरमाथा रेकर्ड ब्रेक गर्ने होडमा नभई आफ्नो पेसा नै हिमाल आरोहणसँग जोडिएकाले ‘चढ्दा चढ्दै रेकर्ड’ बनेको बताउनुभयो । सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पा कीर्तिमानी कामीरिता ३१औँ पटक सगरमाथा आरोहणका लागि आफ्नो कम्पनीबाट जान लागेकामा खुसी व्यक्त गर्नुहुन्छ । “सगरमाथाको रेकर्ड राष्ट्रकै लागि गौरवको कुरा हो, यो कुनै व्यक्ति र कम्पनीको मात्रै हैन”, उहाँले भन्नुभयो ।

जोखिमपूर्ण र संवेदनशील यात्राका रूपमा लिइने सगरमाथा आरोहणका क्रममा केही वीरवीराङ्गनाले सगरमाथाकै नाममा अफ्नो जीवन उत्सर्ग गरेका छन् । एक तथ्याङ्कअनुसार हालसम्म ४०० भन्दा बढी आरोहीले सगरमाथाको आरोहणका क्रममा ज्यान गुमाएका छन् । यसर्थ आरोहीहरूको सामाजिक सुरक्षामा राज्यले विशेष ध्यान दिनुपर्ने अध्यक्ष शेर्पाको भनाइ छ ।

सगरमाथा आरोही सङ्घका महासचिव शिवबहादुर सापकोटाले यस वर्ष सगरमाथासहितका हिमाल आरोहण उत्साहवद्र्धक हुने अनुमान गरिएको बताउनुभयो । उहाँका अनुसार यस याममा पनि कामीरितासहित विभिन्न आरोही नयाँ कीर्तिमान कायम गर्नेगरी जान लागेका छन् ।

पर्वतारोहणसम्बन्धी (छैटाँै संशोधन) नियमावली २०८१ जारी भएपछि कीर्तिमान राख्ने आरोहीले आरोहण अनुमति लिएर मात्रै कीर्तिमानलाई मान्यता दिइने उल्लेख छ । सोहीअनुरुप थप कीर्तिमान बनाउन आरोहीहरू सगरमाथामा लामबद्ध भएका हुन् । अघिल्लो वर्षको आरोहणमा गोरखाकी फुञ्जोझङ्मु लामाले १५ घण्टाभन्दा कम समयमै सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाउनुभयो । यस्तै, फोटो पत्रकार तथा आरोही पूर्णिमा श्रेष्ठले एकै सिजनमा तीनपटक सगरमाथा आरोहण गरेर महिला आरोहीको विश्व कीर्तिमान बनाउनुभयो ।

कुनै आरोही कीर्तिमानी गर्ने हो भने त्यसका लागि पर्यटन विभागमा निवेदन दिएर राज्यका निकायबाट अनुमति लिएर जानुपर्ने हुन्छ । पर्यटन विभागका अनुसार बुधबारसम्म यस सिजनका लागि ३० आरोही समूहका ५८ महिला र २५३ पुरुष गरी कुल तीन सय ११ जनाले सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् । हिमाल आरोहणमार्फत रु ५२ करोड ६४ लाख रोयल्टी रकम सरकारी खातामा जम्मा भएको छ । सगरमाथाबाट मात्रै रु ४६ करोड ‘रोयल्टी’ सङ्कलन भएको जनाइएको छ ।

विभागका निर्देशक लिलाधर अवस्थीका अनुसार बुधबार साँझसम्म विभिन्न २१ हिमाल आरोहणका लागि ७४ आरोही समूहले अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि निकै कठिन मानिएको खुम्बु आइसफलसम्मको बाटो निर्माणसम्पन्न भएको विभागले जनाएको छ । आइसफलका डाक्टरहरूले खुम्बु आइसफल हुँदै रुट फिक्सिङ पूरा गरेको निर्देशक अवस्थीले बताउनुभयो । उहाँले सगरमाथाको दोस्रो शिविरसम्म बाटो बनिसकेकाले अब केही दिनमै दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउन दक्ष शेर्पाको टोली खटिने जानकारी दिनुभयो ।

सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म बटो निर्माणका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) ले जिम्मेवारी लिँदै आएको छ । पर्वतारोहण सञ्चालक सङ्घले सगरमाथाको दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउने अर्थात् ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) काम गर्नेछ । सङ्घले यो सिजनको सगरमाथा आरोहणका लागि बाटो बनाउने तथा रोप फिक्सिङको व्यवस्थापकीय जिम्मेवारी एट्के एक्सपिडिसन कम्पनीलाई दिएको छ ।

सगरमाथा आरोहणको इतिहास दुई साहसी पर्वतारोही तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिखमा बनाउनुभएको थियो । पर्यटन विभागले प्रकाशन गरेको ‘माउन्टेनरिङ इन नेपाल, फ्याक्ट एन्ड फिगर–२०२३’ का आरोहण सुरु भएयता हालसम्म सात हजार ६२६ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् । सन् २०२३ र २०२४ को आरोही सङ्ख्या जोड्दा आठ हजार बढी हुन आउँछ । आरोहीले नयाँनयाँ कीर्तिमानसमेत थप्दै आएका छन् । कतिपयले यात्राकै क्रममा ज्यानसमेत गुमाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

फ्रान्स युक्रेनका कारण ‘तेस्रो विश्वयुद्ध’ चाहँदैन : म्याक्रोन

राष्ट्रपति इमानुएल म्याक्रोनले मङ्गलबार फ्रान्सले युक्रेनमा रुसको आक्रमणका कारण ‘तेस्रो विश्वयुद्ध’ सुरु गर्न नचाहेको बताउनुभएको...

Pakistan, India expels each other’s diplomats

Pakistan and India each announced on Tuesday the expulsion of one diplomat from the other country, with both sides accusing the ...

Uttar Pradesh: All zoos, safari parks temporarily shut after tigress ‘Shakti’ dies of Avian Influenza

Uttar Pradesh: All zoos and safari parks in Uttar Pradesh have been temporarily closed as a precautionary measure following the ...

“Only a fool would not accept…”: Trump on Qatar’s gift of Boeing 747

Following reports of Qatar's gifting of a luxury Boeing 747-8 to the US, President Donald Trump emphasised that the aircraft wil...