पोप फ्रान्सिसको निधन : भ्याटिकन

भ्याटिकन सिटी, ८ वैशाख : पोप फ्रान्सिसको सोमबार ८८ वर्षको उमेरमा निधन भएको छ । इस्टर आइतबार सेन्ट पिटर्स स्क्वायरमा धेरै आशा गरिएको उपस्थिति देखाएको एक दिनपछि भ्याटिकनले एक वक्तव्यमा पोपको निधन भएको बताएको छ ।

“प्रिय दाजुभाइ र दिदीबहिनीहरू, मैले गहिरो दुःखका साथ हाम्रा पवित्र पिता फ्रान्सिसको निधनको घोषणा गर्नुपर्दछ”, कार्डिनल केभिन फारेलले भ्याटिकनद्वारा आफ्नो टेलिग्राम च्यानलमा प्रकाशित वक्तव्यमा भन्नुभयो, “आज बिहान ७ः३५ बजे (०५३५ जिएमटी) रोमका बिशप, फ्रान्सिस, पिताको घरमा फर्किनुभयो, उहाँको सम्पूर्ण जीवन प्रभु र उहाँको चर्चको सेवामा समर्पित थियो ।”

गम्भीर बिमारीपछि अझै पनि आराम गरिरहेको भए तापनि इस्टर आइतबार सेन्ट पिटर्स बेसिलिका बालकोनीमा देखा परेर भ्याटिकनमा भक्तहरूको भीडलाई प्रसन्न तुल्याएको ठिक एक दिनपछि फ्रान्सिसको निधन भयो ।

फ्रान्सिस यस वर्ष निमोनियाबाट पीडित हुँदा दुई पटक मृत्युको नजिक पुग्नुभएको थियो । मार्च २३ मा डिस्चार्ज हुनुअघि उहाँले अस्पतालमा ३८ दिन बिताउनुभयो ।

आइतबार उहाँले सेन्ट पिटर्स स्क्वायरमा भीडलाई हात हल्लाउँदै ‘शुभ इस्टर’ शुभकामना दिनुभयो र आफ्नो परम्परागत ‘उर्बी एट ओर्बी’ (सहर र विश्वलाई) आशीर्वादमा उहाँले विचारको स्वतन्त्रता र सहिष्णुताको आह्वान गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *