शिक्षकको विरोध र्‍यालीका कारण यात्रुलाई सास्ती

काठमाडौँ, ८ वैशाखः काठमाडौँको सबैभन्दा व्यस्त मानिने माइतीघर–नयाँ बानेश्वर सडकखण्ड पछिल्ला २० दिनदेखि अशान्त छ । विभिन्न माग राखेर शिक्षकहरु शान्तिपूर्ण आन्दोलनमा होमिए पनि शिक्षकका कारण हरेक दिन लाखौँ व्यक्तिहरुले दुःख पाइरहेका छन् ।

सरकारसँग विभिन्न माग राखेर आन्दोलित शिक्षकहरु आफ्ना माग पूरा गरेरै छाड्ने र सम्झौतामा नटुङ्ग्याउने नीतिका कारण सरकारसँग वार्ताका लागि पनि तयार भएका छैनन् । उनीहरुले यतिबेला अनौपचारिक छलफललाई भने निरन्तरता दिएका छन् । हरेक दिन ‘पिक आवर’मा प्रमुख मार्ग अवरुद्ध हुँदा यसको मारमा विद्यार्थी, कर्मचारी, व्यवसायीलगायतका यात्रु परेका छन् ।

शिक्षकको आन्दोलनका कारण आफ्नै तालिका नै बिग्रिएको बताउनुहुन्छ, भक्तपुर लोकन्थली बस्ने ३५ वर्षीय रामप्रसाद दाहाल । उहाँ हरेक दिन बिहान साढे ९ बजे लोकन्थलीबाट न्यूरोडस्थित कार्यालयमा काम गर्न जाँदा तीनकुने–माइतिघर सडकखण्ड प्रयोग गर्नुहुन्छ । सामान्यतयाः आधा घण्टा लाग्ने समयमा आज उहाँलाई कार्यालय पुग्न सवा एक घण्टाभन्दा बढी लाग्यो । “जहिल्यै पनि आधा घण्टामा अफिस आइपुग्थे । आज त हाजिर नै छुट्यो । यो आन्दोलन छिटो सकिए हामीलाई पनि राहत हुने थियो”, उहाँले भन्नुभयो ।

पुरानो बानेश्वर बस्ने २८ वर्षीया मीना लामाको पनि समस्या उस्तै छ । उहाँलाई पनि ११ बजेसम्म कार्यालय पुग्नैपर्छ । बैशाखको चर्को घाममा लामो जाम बसेर कार्यालय पुग्न आफूलाई हम्मेहम्मे परेको उहाँको भनाइ छ । आन्दोलनकारीहरुले आफ्ना माग पूरा गराउनका लागि सर्वसाधारणलाई दुःख दिन जायज नभएको उहाँको बुझाइ छ ।

शिक्षकहरुको सुरक्षाका लागि हजारौँ जनशक्ति हरेक दिन खटिएका छन्भने ट्राफिक प्रहरीका लागि सवारी व्यवस्थापन टाउको दुखाइ बनेको छ । शिक्षकको विरोध र्‍यालीका कारण राजधानीको सुरक्षा व्यवस्था, सवारीसाधन आवागमनमा चुनौती थपिएको छ ।

वैशाख ६ गतेसम्म दिनसम्म दिउँसो १२ देखि ३ बजेसम्म शान्तिपूर्ण रुपमा विरोध र्‍याली गरिरहेका शिक्षकहरुले वैशाख ७ गतेदेखि समयतालिका परिवर्तन गरी बिहान ९ देखि १२ बजेसम्म बनाएपछि विद्यार्थी, कार्यालय पुग्ने हतारोमा रहने कर्मचारी, व्यवसायीलगायतका यात्रु सबैभन्दा ठूलो मारमा परेका छन् । मानिसहरु माइतीघरदेखि तीनकुनेसम्म पैदल हिँड्न बाध्य छन्भने सवारीसाधन ‘डाइभर्सन’मा चुनौती थपिएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार आन्दोलनका कारण यात्रुहरुले निकै दुःख पाएको बताउनुहुन्छ । अझ कार्यालय समयमा सडक ठप्प हुँदा समयमै कार्यालयमा पुग्न समस्या भइरहेको उहाँको भनाइ छ ।

“बानेश्वर–माइतीघरमा मानिसहरु जम्मा हुँदा सवारीसाधनलाई विभिन्न स्थानबाट डाइभर्सन गरी सञ्चालन गरिएको अवस्था छ, सवारीसाधनलाई तीनकुने, रणोद्वीप, कृष्णपाउरोटीलगायतका स्थानबाट डाइभर्सन गरिएको छ”, प्रहरीले भनेको छ । डाइभर्सनका कारण पुरानो बानेश्वर, सेतोपुल, सिंहदरबार दक्षिणढोका, माइतीघर, अनामनगर, हनुमानस्थान, थापागाउँ हुँदै चल्ने सवारीसाधनलाई ‘क्यू’मा सञ्चालन गरिएको छ ।

पिकआवरमा बढेका सवारीसाधनका कारण काठमाडौँ उपत्यकास्थित कोटेश्वर, गौशाला, जयबागेश्वरी, मित्रपार्क, चाबहिल, सोह्रखुट्टे, लैनचौर, रणोद्वीप, त्रिपुरेश्वर, टेकु, कालोपुल, थापाथली र कुपण्डोल हुँदै चल्ने सवारीसाधन पनि क्यूमै चलेको प्रहरीको भनाइ छ ।

मुलुकमा विभिन्न क्षेत्रबाट काठमाडौँ केन्द्रित भएका शिक्षकहरुका पनि आफ्नै समस्या छन् । लामो समयसम्म काठमाडौँमा बस्दा खर्चको जोहो गर्न पनि उनीहरुलाई हम्मेहम्मे परिरहेको छभने केही शिक्षकहरु आफन्तकहाँ आश्रय लिइरहेका छन् ।

चैत र वैशाखको टन्टलापुर घाममा उनीहरुले कहिले गीत गाएर त कहिले कवितामार्फत शिक्षकहरुले आफ्ना माग राखिरहेका छन् । उनीहरुले विभिन्न गीत र नृत्यमार्फत विरोध र्‍यालीलाई रोमाञ्चक पनि बनाइरहेका छन् । उनीहरुको विरोध र्‍यालीका कारण सिंहदरबार, कोटेश्वर, तीनकुने, नयाँबानेश्वर, शङ्खमूल, माइतीघरलगायतका क्षेत्र सामान्य बन्न सकेको छैन ।

विभिन्न भागबाट काठमाडौँ आएका शिक्षकका कारण विद्यालयको शैक्षिक तालिका प्रभावित भएको छ । नयाँ शैक्षिकसत्र सुरु हुँदा भर्नालगायतका प्रक्रियाका लागि विद्यालयमा खटिनुपर्ने शिक्षक काठमाडौँकेन्द्रित आन्दोलनमा सहभागी हुँदा सामुदायिक विद्यालयको पठनपठान र शैक्षिक क्रियाकलाप प्रभावित भएको छ ।

माग पूरा गर्नका लागि नेपाल शिक्षक महासङ्घका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओली र सभामुुख देवराज घिमिरेसँग यही वैशाख ५ गते बेग्लाबेग्लै भेट गरी माग सम्बोधनका लागि आह्वान गरिसकेका छन् । उनीहरुका माग सम्बोधनका लागि नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश थापा तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेललगायतले पनि पहल गर्नुभएको छ ।

साथै उच्चस्तरीय राजनीतिक पहलसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र महासङ्घबीच अनौपचारिक तहमा कुराकानी भइरहेको जनाइएको छ । मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले विद्यालय शिक्षा विधेयक, २०८१ ले नसमेटेका व्यावहारिक र न्यायिक मागहरुलाई पारस्परिक संवादका आधारमा प्याकेजबाटै सम्बोधनको तयारी भइरहेको बताउनुहुन्छ ।

नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अनौपचारिक कुराकानी भए पनि ठोस उपलब्धि हासिल नभएकाले अझै केही दिन आन्दोलन गर्नुुपर्ने स्थिति रहेको बताउनुभयो । उहाँले कुनै पनि हालतमा माग पूरा गरी छाड्ने नीतिका साथ आफूहरुले आन्दोलन अघि बढाएको बताउनुहुन्छ ।

आन्दोलनमा अनिवार्य उपस्थिति भनिएका कारण सडकमा ७७ वटै जिल्ला र ७५३ स्थानीय तहबाट प्रतिनिधित्व गर्दै शिक्षकको उपस्थिति छ । सरकारले भने शिक्षकहरुलाई वार्तामा आउन र घर फर्कन आग्रह गरेको छ । शिक्षकहरु भने आश्वासनकै भरमा नफर्किने अडानमा छन् । यता सवारी जामले गर्दा विद्यार्थी, कर्मचारी, सर्वसाधारण तातो र चर्को घाममा हिँडेर गन्तव्यमा पुग्न बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

इजरायलद्वारा दश जना प्यालेस्टिनीको रिहाइ

इजरायली सेनाले गाजा क्षेत्रमा सञ्चालन गरेको पछिल्लो सैनिक अभियानको क्रममा पक्राउ परेका दश जना प्यालेस्टिनीलाई रिहा गरेको जनाएको ...

रुसको आर्थिक वृद्धिदर पहिलो त्रैमासिकमा १.४ प्रतिशतमा सीमित

सन् २०२५ को पहिलो त्रैमासिकमा रुसको सकल घरेलु उत्पादन (जीडीपी) अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.४ प्रतिशतले वृद्धि भएको प्रा...

युक्रेनमा भएको रूसी आक्रमणमा नौ जनाको मृत्यु

उत्तरी युक्रेनको सुमी क्षेत्रमा यात्रु बोकेको सानो बसमा भएको रूसी मानवरहित हवाई यन्त्र (ड्रोन) आक्रमणमा परी नौ जनाको मृत्यु भएको...

अमेरिकी अदालतको फैसलाले सरकारको आप्रवासी नीति प्रभावित: ट्रम्प

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अमेरिकी सर्वोच्च अदालतको पछिल्लो निर्णयप्रति आफ्नो गम्भीर असन्तोष ...