रातो मच्छिन्द्रनाथलाई विधिपूर्वक रथारोहण गरियो

पाटन (ललितपुर), १५ वैशाख : ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथलाई विधिपूर्वक रथारोहण गरिएको छ । लगनखेलस्थित मच्छिन्द्रबहालमा विराजमान रातो मच्छिन्द्रनाथको मूर्तिलाई मुख्य पुजारी यज्ञरत्न शाक्यसहितका पानेजुले विधिपूर्वक पूजा गरी बाजागाजासहित बोकेर पुल्चोकमा ल्याएर आज साँझ रथारोहण गराउनुभएको हो ।

रथारोहणका समयमा तोप पड्काएर हर्ष बढाइँ गरिएको थियोे । हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलनानुसार आज साँझ रथारोहण गरिएको हो । ञवाल गुठका नाइके प्रेम महर्जनका अनुसार आजको चार दिनपछि रथ तानेर गावहाल पु-याइन्छ । “गावहालमा नौ टोलले जात्रा मनाउँछ, गावहाल पु-याएको भोलिपल्ट भोज गरिन्छ”, उहाँले भन्नुभयो ।

ञवाल गुठीका गुठियार रत्न डंगोलका अनुसार रथ बनाउन सुरु भएको १५ दिनमा सम्पन्न हुन्छ, जावलाखेल नपु-याएसम्म मर्मत गर्ने काम ञवाल गुठीले नै गर्नुपर्ने हुन्छ । “मच्छिन्द्रनाथसँगै १०८ लोकेश्वर हुन्छन्, लोकेश्वरमध्येका पद्मवाणी लोकेश्वरलाई आज दिउँसो रथारोहण गर्न ल्याउनुनुपूर्व कटुवालदहबाट कलश यात्रा गरेको ल्याएको जल मच्छिन्द्रनाथको पाउमा अर्पण गरियो । सो काम गरेपछि पुजारीले भजन अनि पाठ गर्नुभएको थियोे”, उहाँले भन्नुभयो ।

भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवको प्रतिनिधिका रुपमा केही मानिस तःबहाल उपस्थित भएपछि विधिपूर्वक मच्छिन्द्रनाथलाई रथारोहण गर्न पुल्चोक लगिने पुजारी (३२ पानेजुमध्येका एक) कमलराज बज्राचार्यले बताउनुभयो । “लोकेश्वरलाई रथमा विराजमान गराउन लाँदा गुरुज्यूको पल्टनको उपस्थितिमा चारजना पानेजुले रथ बोक्ने परम्परा छ भने एक व्यक्तिले लोकेश्वरलाई छाता ओढाउँछन् त अर्का एक व्यक्तिले हातमा खड्ग समाती जय–जयकार गर्दै पुल्चोक पु-याइन्छ”, उहाँले भन्नुभयो ।

उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा मच्छिन्द्रनाथ जात्रालाई मनाउने गरिन्छ । मच्छिन्द्रनाथलाई छ महिना पाटनको तःबहाल र छ महिना बुङ्मतीमा राख्ने चलनअनुसार गत मङ्सिरमा पाटनको तःबहाल मन्दिरमा ल्याएर राखिएको थियोे ।

किंवदन्तीअनुसार एकपटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोँकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारूकामाक्षबाट नेपाल ल्याएका थिए ।

काठमाडौँ उपत्यकामा मुहार रातो भएका रक्तवलोकेश्वर करुणामयको स्थान निकै उच्च छ । यिनलाई लोकनाथ, रातो मच्छिन्द्रनाथ वा मत्स्येन्द्रनाथ, बुङ्गमलोकेश्वर, बुँगद्यः, आर्यावलोकितेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पुकार्दै उपत्यकावासीले श्रद्धाका साथ पूजापाठ र जात्रा मनाउने चलन छ ।

करुणामयलाई ३२ हातका साथै ४८ फिट अग्लो रथमा विराजमान गराइन्छ । मच्छिन्द्रनाथको रथ नरेन्द्रदेवका छोरा राजा बरदेवले बनाउने चलन चलाएको मानिने पाटन निवासी सूर्यमान डङ्गोलले बताउनुभयो । “मच्छिन्द्रनाथलाई हिन्दू धर्मावलम्बीले ऐतिहासिक सन्तगुरु करुणामयका रुपमा पुज्छन् भने बौद्ध धर्मावलम्बीले पद्यपाणि (पच्चबुद्धमध्येका चौथो बुद्ध)का स्वरुपमा पूज्ने गर्छन्,“ उहाँले भन्नुभयो ।

रक्तावलोकितेश्वर मुहार अरूणावर्ण हुनाका साथै दुई ठूला–ठूला आँखा अनि दबिएको नाक तथा चार फुट लामो उचाइ रहेको डङ्गोलले जानकारी गराउनुभयो। वृष्टिदेवले शिरमा रत्नमुकुट अनि निधारमा टीका र कानमा रत्नजडित गहना लगाउनाका साथै घाँटीमा कर्काेटनागको रत्नमाला, हातमा चुरा तथा बाला र खुट्टामा कल्लीले सुशोभित हुने गरेका मुनीन्द्ररत्न बज्राचार्यद्वारा लिखित पुस्तकमा चर्चा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

इजरायलद्वारा दश जना प्यालेस्टिनीको रिहाइ

इजरायली सेनाले गाजा क्षेत्रमा सञ्चालन गरेको पछिल्लो सैनिक अभियानको क्रममा पक्राउ परेका दश जना प्यालेस्टिनीलाई रिहा गरेको जनाएको ...

रुसको आर्थिक वृद्धिदर पहिलो त्रैमासिकमा १.४ प्रतिशतमा सीमित

सन् २०२५ को पहिलो त्रैमासिकमा रुसको सकल घरेलु उत्पादन (जीडीपी) अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.४ प्रतिशतले वृद्धि भएको प्रा...

युक्रेनमा भएको रूसी आक्रमणमा नौ जनाको मृत्यु

उत्तरी युक्रेनको सुमी क्षेत्रमा यात्रु बोकेको सानो बसमा भएको रूसी मानवरहित हवाई यन्त्र (ड्रोन) आक्रमणमा परी नौ जनाको मृत्यु भएको...

अमेरिकी अदालतको फैसलाले सरकारको आप्रवासी नीति प्रभावित: ट्रम्प

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अमेरिकी सर्वोच्च अदालतको पछिल्लो निर्णयप्रति आफ्नो गम्भीर असन्तोष ...