जनताको पक्षमा हुनेगरी संविधान संशोधन गर्न आवश्यक छः अध्यक्ष प्रचण्ड

धरान (सुनसरी), २८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको पक्षमा हुनेगरी संविधान संशोधन गर्न आवश्यक रहेको बताउनुभयो ।

आज यहाँ किरात र लिम्बूवान् राष्ट्रिय मुक्ति मोर्चा, नेपालको संयुक्त राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उहाँले संविधानलाई परिवर्तन नभई परिमार्जनको दस्ताबेजका रूपमा लिनुपर्ने बताउनुभयो । अध्यक्ष प्रचण्डले संविधान जनताको चाहना र आवश्यकताअनुसार समयसापेक्ष संशोधन गर्नु आजको आवश्यकता रहेको बताउनुभयो ।

संविधान निर्माणदेखि सङ्घीय संरचनाको आधार तयार पार्न माओवादीको भूमिकाले वर्गीय र जातीय उत्पीडन अन्त्यका लागि निर्णायक मोड दिएको उहाँले दाबी गर्नुभयो । “समावेशिता, प्रतिनिधित्व र समानताको सवालमा हाम्रो पार्टीले विगतदेखि हालसम्म खेलेको भूमिका सबैलाई जानकारी नै छ । अब त्यसमा जहाँ कमजोरीहरू छन्, त्यहाँ संशोधन गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो,“हामीले वर्गीय, जातीय, लैङ्गिक र क्षेत्रीय विभेद अन्त्यका लागि सङ्घर्ष मात्र नभएर त्यसलाई संस्थागत गर्दै शान्तिपूर्ण राजनीतिको धारामा रूपान्तरण गर्न निरन्तर भूमिका खेलिरहेका छौँ ।”

पूर्वप्रधानमन्त्री दाहालले संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरण गर्न, आर्थिक विकास र समृद्धिका लागि जनताले कृषिलगायत क्षेत्रमा भोग्दै आएका समस्या समाधानको सङ्कल्पसहित अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *