काठमाडौँ — संविधानविपरीत गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली ल्याएपछि यातायात व्यवसायीहरु ७ बुँदे माग सहित आन्दोलनमा छन् । आन्दोलनका कार्यक्रमअनुसार शनिबार काठमाडौंमा व्यवसायीले गाडीमा कालोझन्डा राखेर बिहान साढे ११ बजेदेखि साढे १२ बजेसम्म चक्रपथमा चक्का जाम गरे ।
माग पूरा गराउन यसअघि यातायात व्यवसायीले सरोकार राख्ने सबै मन्त्रालयमा ज्ञापनपत्र बुझाउने, पत्रकार सम्मेलन गर्ने, प्रदेशका मुख्यमन्त्रीहरुलाई मागपत्र बुझाउने लगायतका कार्यक्रम गरेका थिए ।
‘हाम्रो माग पूरा नभएपछि घोषित कार्यक्रमअन्तर्गत चक्रपथमामा कालोझन्डासहित गाडी राखेर विरोध गरेका हौं,’ नेपाल यातायत स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईले भने ।
प्रदेश सरकारहरुले बनाएको ऐन नियमावलीका कारण सार्वजनिक यातायात क्षेत्र नै विस्थापित हुने अवस्था आएपछि आन्दोलनको कार्यक्रम घोषणा गर्न बाध्य भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वार बताउँछन् । उनका अनुसार सवारी ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरीत संघीय ऐनसँग बाझिने गरी सातै प्रदेश सरकारले नियमावली ल्याउँदै छन् । प्रदेश सरकारले यसरी छुट्टै नियमावली ल्याउन नहुने व्यवसायीको माग छ ।