Monday, April 13News That Matters

ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी गर्दै ७७ वर्षीय बालकृष्ण

शनिबार, २४ जेठ २०८२
गुल्मी। बडिगाड गाउँपालिका–५ का ७७ वर्षीय बालकृष्ण अर्याल यति बेला ड्रागन फ्रुट खेती गरेर वार्षिक रु १० आम्दानी गर्न थालेका छन् । बागलुङको बडिगाड गाउँपालिकामा जन्मिएका अर्यालको कर्म घर भने गुल्मीको मुसिकोट नगरपालिका–१ भर्माचौर हो । त्यही ठाउँमा अर्यालले तीन वर्षदेखि व्यावसायिक रूपमा ड्रागन फ्रुट खेती गर्दै आएका छन् छ ।अर्यालले चार रोपनी जग्गामा ३ सय पोल गाडेर ड्रागन फ्रुटको खेती गर्दै आएका छन् । उनको बगैँचामा रहेका हरेक पोलमा गरी एक हजार दुई सय ड्रागन फ्रुटका बोट रहेका छन् । तिनै बोटबाट गत वर्ष २० क्विन्टल ड्रागन फ्रुट उत्पादन भएको अर्यालले बताए । यस पटक ३० क्विन्टल उत्पादन हुने उनको अनुमान छ । यसलाई विस्तार गर्नका लागि उनले गत वर्षदेखि ड्रागन फ्रुटका बिरुवासमेत उत्पादन गर्न थालेका छन् ।

अर्यालले बगैँचामा १५ जातका १८ हजारभन्दा बढी बिरुवा उत्पादन गरेका छन् । उत्पादित बिरुवा रु ५० देखि रु २५० सम्ममा बिक्री गर्ने गरेको उनले बताए । उत्पादित फलले बजार पाए पनि बिरुवाले भने बजार पाउन नसकेको अर्यालले बताए । उनले उत्पादन गरेका ड्रागन फ्रुट बजारमा प्रतिकिलो रु ५ सय मा बिक्री हुने गर्दछ । गत वर्ष उनले ड्रागन फ्रुट बिक्री गरी रु दश लाख आम्दानी गरेका थिए ।

बडिगाड–५ ग्वालीचौरस्थित भानु माध्यमिक विद्यालयमा ३३ वर्ष प्रधानाध्यापकको जिम्मेवारी सम्हालेर १५ वर्षअघि शिक्षण पेसाबाट अवकाश पाएका अर्याल यति बेला ड्रागन फ्रुट खेतीमा रमाएका छन् । उमेरले ७७ वसन्त टेकेका अर्यालका छोरा रोजगारीको क्रममा अमेरिका र अष्टे«लियामा छन् । बुढेसकालमा छोरासँग देश विदेश घुमेर रमाउने समयमा उनी गाउँँमै बसेर कृषि कर्ममा रमाएका छन् । अर्यालको यस्तो सक्रियताले गाउँका धेरै व्यक्तिलाई ऊर्जा र प्रेरणा मिलेको छ ।

“सुरुमा मैले यो पेसा अँगाल्दा गाउँलेलाई पत्यारै लागेन, धेरै जनाले यी पोल गाडेर यो बुढाले बुढेसकालमा के उपद्रो गर्न लाग्यो होला भनेर नाक चिम्राउँथे, कतिले यो नहुने काम गर्‍यो भनेर भने । तर गरे त हुँदो रहेछ नि”, अर्यालले भने । तिनै नाक चिम्राउने र विश्वास नगर्नेहरू अर्यालले बगैँचा भरी ड्रागन फ्रुट उत्पादन गरेको देखेपछि अचम्मित बनेका छन् । स्थानीय सरकारले पनि व्यावसायिक कृषकलाई अनुदान उपलब्ध गराउने नीति बनाएको मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले बताए । बुढ्यौलीले ओरालो लाग्दै गर्दा र कपाल फुल्दै गर्दा पनि अर्यालको यो हिम्मत र जाँगर अझै पनि कुनै तन्नेरीको भन्दा कम छैन । अर्यालले हालसम्म कुनै पनि स्थानीय तहबाट अनुदान नपाएको बताए । “यसमा २० लाख मेरो लगानी भइसकेको छ, यसले २०/२५ वर्ष आम्दानी दिन्छ”, अर्यालले भने । अर्यालले बाझिएको खेतबारीलाई आफ्नै एकल पौरख र मेहनतले सिञ्चित गर्दै आएका छन् । पछिल्लो समयमा धेरै व्यक्ति गाउँ छाडेर परिवारसँगै सहर पसे पनि अर्याल दम्पती भने खुसीका साथ गाउँमा कृषि कर्ममा रमाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *