
जेष्ठ २८, २०८२
काठमाडौँ — सिरियाले सामुन्द्रिक किनारमा जाँदा महिलाहरूले लगाउने पोसाकसम्बन्धी निर्देशिका जारी गरेको छ । यो निर्देशिकाले महिलालाई समुन्द्री किनारमा जाँदा पनि बुर्का वा पूरै शरीर ढाकिने कपडा लगाउन अनिवार्य गरेको हो ।
गत वर्षको मंसिरमा राजधानी दमास्कस कब्जा गरेपछि राष्ट्रपति बसर अल असदले देश छाडेर भागेका थिए । दमास्कस आफ्नो कब्जामा आएपछि विद्रोही समूह हयात तहरिर अल सामले नयाँ नेतृत्व सम्हालेको थियो । नयाँ सरकारले जारी गरेको यस्तो निर्देशिकालाई अन्तर्राष्ट्रिय संचारमाध्यम सीएनएनले सिरियामा देखिएको पछिल्लो ‘कल्चरल सिफ्ट’ भनेर टिप्पणी गरेको छ ।
पर्यटन मन्त्रालयले भने निर्देशिकालाई सार्वजनिक हितमा जारी गरिएको भनेको छ । पर्यटनमन्त्री माजेन अल-सल्हानीले सामाजिक संजाल फेसबुकमा ‘स्थानीय हुन् वा विदेशी पर्यटक- उनीहरूले समाजका विभिन्न तप्काको संवेदनशीलता र आममानिसको व्यवहारलाई ध्यानमा राख्दै सार्वजनिक सामुन्द्रिक किनार वा स्विमिङ पुलमा जाँदा उपयुक्त पोसाक लगाउनुपर्नेछ’ भनी लेखेका छन् ।
मन्त्रालयले जारी गरेको निर्देशिकामा भनिएको छ, ‘सार्वजनिक समुन्द्र किनार र स्विमिङ पुलमा बुर्का वा शरीरको धेरै भाग ढाक्ने मर्यादित पोसाक अनिवार्य छ ।’ यो निर्देशिकामा सामुन्द्रिक किनार भएर जाँदा आउँदा पनि महिलाले शरीर छोप्ने कपडा लगाउनुपर्ने उल्लेख गरिएको छ ।
यो निर्देशिकमा पुरुषहरूले लगाउने कपडाबारे पनि उल्लेख गरिएको छ । पुरुषले पनि सार्वजनिक स्थानमा टपलेस पहिरन लगाउन निर्देशिकाले छुट दिएको छैन । मन्त्रालयले तारे होटल वा अन्तर्राष्ट्रिय खालका होटल/ रिसोर्टमा भने यस्तो नियम नलाग्ने बताएको छ । त्यस्ता स्थानमा पश्चिमा शैलीका स्विमिङ कस्टम लगाउन मिल्ने निर्देशिकामा उल्लेख गरिएको छ ।
