काठमाडौँ — यसै साता लण्डनमा सम्पन्न दुईदिने उच्चस्तरीय वार्तापछि अमेरिका र चीनबीच व्यापार युद्ध सम्झौताका लागि महत्त्वपूर्ण सहमति भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् । उनले ‘डन डिल’ भन्दै आफ्नै सामाजिक सञ्जाल प्लाटफर्म ट्रुथ सोसलमा पोस्ट गरेका छन् । चिनियाँ पक्षले भने दुवै पक्षबीच भएको सहमतिका लागि ढाँचामा सहमति भएको प्रतिकृया दिएको छ ।
ट्रम्पका अनुसार चीनले अमेरिकी प्रविधि कम्पनीहरूलाई म्याग्नेट र दुर्लभ खनिज (रेयर अर्थ मेटल्स) आपूर्ति गर्न सहमति जनाएको छ । त्यसको सट्टामा अमेरिकाले पनि चिनियाँ विद्यार्थीको भिसा खारेज गर्ने धम्की फिर्ता लिने सहमती भएको बीबीसीको समाचारमा उल्लेख छ ।
‘चीनसँग हाम्रो सम्झौता सम्पनन्न भएको छ तथापी अन्तिम अनुमोदनका लागि राष्ट्रपति सी र मबीच औपचारिक सहमति हुन बाँकी छ,’ ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन् । ट्रम्पले सहमतिका विवरणहरूको समिक्षा गरिरहेको बुधबार ह्वाइट हाउसले जानकारी दिएको थियो ।
सन् २०२५ को मे महिनामा स्विट्जरल्यान्डमा भएको अस्थायी सहमतिलाई लण्डनको वार्ताले कार्यान्वयनमा लैजाने ढाँचा तयार गरेको अमेरिकी र चिनियाँ अधिकारीहरूले जनाएका छन् । ‘जेनेभा बैठक र जुन ५ मा दुई राष्ट्रपतिबीच भएको टेलिफोन वार्ताका निर्णयहरूको कार्यान्वयन ढाँचाका लागि हामी दुबै पक्ष सैद्धान्तिक रूपमा सहमत भएका छौँ,’ चीनको वाणिज्य उपमन्त्री ली छेङगाङ र अमेरिकी वाणिज्य मन्त्री होवार्ड लुटनिको समान भनाइ छ ।
अमेरिका-चीन व्यापार युद्धबाट उत्पन्न तनाव कम गर्न नयाँ चरणको वार्ता गर्ने भन्दै यो बैठक आयोजना गरिएको थियो । यसअघि व्यापारिक प्रतिबन्ध र पारस्परिक ट्यारिफ वृद्धिले दुवै अर्थतन्त्र प्रभावित बनेका थिए । अलजजिराका अनुसार चीनले रेयर अर्थ मेटलहरू तुरुन्तै अमेरिका आपूर्ति तुरुन्तै थाल्ने ट्रम्पको भनाइ छ । तर यसको अर्थ के हो भन्ने स्पष्ट भइसकेको छैन ।
सेमिकन्डर चिप, विद्युतीय सवारी साधनदेखि स्मार्टफोन निर्माणलाई यस्ता खनिज आवश्यक पर्छ । दुर्लभ खनिज बजारमा चीनको अत्यधिक नियन्त्रण छ । विश्वका करिब ६० प्रतिशत दुर्लभ खनिजहरू चीनमा उत्पादन हुन्छन् र करिब ९० प्रतिशत प्रशोधन पनि चीनमै गरिन्छ ।
बीबीसीका अनुसार हालको सहमति प्रारम्भिक चरणमा रहेको र यसले व्यापक व्यापार सम्झौतासम्म पुग्न समय लाग्ने अमेरिकी अधिकारीहरूले बताएका छन् । यद्यपि, दुबै देशले लचकता देखाएको स्पष्ट संकेत देखिएको छ ।