
काठमाडौँ — इरानको राजधानी तेहरानमा रहेका १६ नेपालीमध्ये ११ जनालाई भारतीय दूतावासले आइतबार उद्धार गर्ने भएको छ । दूतावासले आफ्ना नागरिकसँगै उनीहरूलाई बिहान ७ बजे तेहरानबाट बसमा कोम हुँदै मशाद लैजाने भएको छ । मशाद इरानको उत्तरी छिमेक तुर्कमेनिस्तान नजिकको सीमावर्ती सहर हो ।
तेहरानमा रहेका हरि थापाका अनुसार ११ नेपालीलाई आइतबार बिहानै जम्मा हुन ठाउँ तोकिएको छ । ‘त्यहाँबाट हामीलाई मशाद पुर्याउने भनिएको छ । सम्भवतः मशादबाट भारतका लागि उड्छौं,’ उनले भने । तेहराइनबाट कोमसम्म बसमा पुग्न साढे दुई घण्टा लाग्छ । त्यहाँबाट मशाद पुग्न झन्डै १२ घण्टा लाग्छ । भारतीय दूतावासका अधिकारीहरू मशादमा बसेर आफ्ना नागरिकलाई उद्धार गर्दै स्वदेश पठाइरहेका छन् ।
थापाका अनुसार इजरायल–इरान द्वन्द्व चर्किएपछि बुधबार सात नेपाली तेहरान छाडेर उत्तरी क्षेत्रको रस्ट पुगेका थिए । उद्धार हुने खबर पाएपछि उनीहरू तेहरान फर्किएका छन् । रस्ट तेहरानबाट ३ सय १९ किमिको दूरीमा पर्छ । तेहरानबाट आइतबार मशाद जाने तयारीमा उदयपुरका हरि थापा, उनका छोरा उत्सव थापा र उनकी श्रीमती गायत्री कार्की थापा छन् । त्यस्तै, बुटवलका विष्णु भुसाल, बुद्धिसागर पौडेल, गणेश पोखेरल, सुमन गैरे, विष्णुप्रसाद बञ्जाडे, यज्ञ मरासिनी, राजु खनाल र ललितपुरका शिवप्रसाद भट्टराई पनि मशाद जान लागेका छन् । उनीहरू तेहरानमा रहेका विभिन्न दूतावास र इरानी रेस्टुरेन्टमा काम गर्दै आएका थिए ।
१६ वर्षदेखि इरानी रेस्टुरेन्टमा सेफको काम गर्दै आएका गणेश पोखरेलले बिदामा घर जान पहिले नै १ असारका लागि टिकट काटेको तर त्यसको दुई दिन नै इजरायलले आक्रमण गरेपछि रोकिनुपरेको बताए । ‘अहिले पनि म बसेको ठाउँ सुरक्षित नै छ । यहाँ भइरहेको आक्रमण टीभीमा हेर्दा मात्रै थाहा हुन्छ । बाहिर मान्छे हिँडडुल गरिरहेका छन् । बेला–बेला मिसाइल पड्केको आवाज आइराख्छ ।’
इरानी जेलमा रहेका ५ नेपालीको उद्धार भने कहिले हुन्छ, निश्चित छैन । उनीहरूको उद्धार प्रक्रिया अघि बढाउन कतारको दोहास्थित नेपाली दूतावासले ३ जनाको ट्राभल डकुमेन्ट पठाइसकेको छ । दोहास्थित नेपाली दूतावासका दाङका गोविन्द डाँगी, मदन डाँगी र पुष्कर खत्रीको ट्राभल डकुमेन्ट पठाएको हो । अन्य दुई महेश डाँगी र बालकृष्ण खड्कासँग भने राहदानी छ । उनीहरू पाँचै जनालाई इरानको आवासीय कानुन उल्लंघन गरेको भन्दै डेढ महिनाअघि मात्र प्रहरीले पक्राउ गरेको थियो । उनीहरूलाई स्वदेश फर्काउन अदालतले आदेश जारी गरिसकेको छ ।
परराष्ट्र मन्त्रालयले इरानमा रहेका नेपाली नागरिकको उद्धारका लागि भारत सरकारलाई आग्रह गरेको थियो । नेपाल सरकारको अनुरोधपछि तेहरानस्थित भारतीय दूतावासले उद्धारमा सहयोग गर्ने जनाउँदै सम्पर्क गर्न फोन नम्बरहरू सार्वजनिक गरेको थियो ।
