प्रस्तावित न्यायाधीश र न्याय परिषद्‌‌ सदस्यविरुद्ध संसदीय समितिमा सात उजुरी

असार १२, २०८२

काठमाडौँ — सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तीन न्यायाधीश र न्याय परिषद्का एक जना सदस्यविरुद्ध संसदीय सुनुवाई समितिमा ७ वटा उजुरी परेका छन्।

न्याय परिषद्को सदस्य पदमा प्रस्तावित महेशकुमार नेपालमाथि ५ वटा उजुरी परेका छन् भने अन्य दुई वटा उजुरी भने प्रस्तावित न्यायाधीशउपर परेका हुन् । बिहीबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकमा समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले उजुरीबारे जानकारी दिएकी हुन्।

सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाको नाम प्रस्ताव भएको छ भने न्याय परिषद्को सदस्य पदमा महेशकुमार नेपालको नाम प्रस्तावित छ।

समितिले सबै उजुरीकर्ताहरूलाई शुक्रबारको बैठकमा बोलाएर जानकारी लिने कार्यसूची बनाएको समितिकी सभापति न्यौपानेले बताइन्। त्यस्तै, असार १५ गतेको समितिको बैठकमा प्रस्तावित न्यायाधीशहरू पोखरेल, पौडेल र थापाका कार्ययोजना सुन्ने र सुनुवाई गर्ने कार्यसूची रहेको छ।

उनले भनिन्, ‘१३ गतेको बैठकमा उजुरीकर्ताहरूलाई बोलाएर उजुरी सुन्ने र १५ गते न्यायपरिषद्‌मा सिफारिस सदस्य र सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका व्यक्तिहरूलाई बोलाएर उनीहरूका कार्ययोजना सुन्ने कार्यसूची छ। त्यसपछि त्यही दिन निर्णय हुन्छ। त्यो दिन निर्णय हुन नसके अर्को दिन हुनसक्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *