स्पेन भ्रमणबारे संसद्‌मा प्रधानमन्त्रीले दिए जानकारी, यस्तो छ तालिका

असार १४, २०८२

काठमाडौँ — प्रधामन्त्री केपी शर्मा ओलीले आजदेखि सुरु हुने स्पेन भ्रमणबारे संसद्‌लाई जानकारी गराएका छन् । संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) को चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी हुन आज साँझ उनी स्पेन प्रस्थान गर्दै छन् ।

 

स्पेनको सेभिया सहरमा आयोजना हुने यो अन्तर्राष्ट्रिय सम्मेलनको एक दशकमा आयोजना गरिन्छ । संयुक्त राष्ट्रसंघको महासभामा जस्तै यस सम्मेलनमा पनि सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरुको सहभागिता रहने गरेको छ ।

आज साँझ ६ बजे कतार एयरवेजको जहाजबाट दोहा हुँदै प्रधानमन्त्री स्पेनको राजधानी म्याड्रिडमा भोलि बिहान पुग्ने तालिका छ । प्रधानमन्त्रीको टोलीमा २१ जना सहभागी हुनेछन् । यसमा स्पेनस्थित नेपाली राजदूत र न्युयोर्कस्थित आवासीय प्रतिनिधिसमेत रहनेछन् ।

परराष्ट्र मन्त्रालयका सचिवसहित सम्बन्धित क्षेत्रको नेतृत्व गर्ने अधिकारी सहितको टिमका अतिरिक्त अर्थ सचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव पनि भ्रमण दलमा समावेश हुनेछन् । प्रधानमन्त्रीको मुख्य सल्लाहकार सहित स्वकीय सचिवालयका आवश्यक व्यक्ति पनि टोलीमा रहनेछन् ।

भ्रमणको दोस्रो दिन असार १५ गते दिउँसो करिब ४ बजे भ्रमण टोली स्पेनको सहर सेभियामा पुग्ने प्रधानमन्त्री ओलीले जानकारी गराएका छन् । नागरिक समाजले आयोजना गरेको प्लेनरीको समापन सत्रमा सम्बोधन गर्ने कार्यक्रम छ, जहाँ स्पेनका मन्त्रिपरिषद्का महामहिम अध्यक्ष सहित विभिन्न व्यक्तित्वहरुको सहभागिता हुनेछन् ।

साँझ ५ बजे स्पेनका प्रधानमन्त्री (स्पेन सरकारका अध्यक्ष) पेद्रो साञ्चेजसँग द्विपक्षीय बैठक तय भएको छ । १५ गतेको अन्तिम कार्यक्रम स्पेनका नरेशद्वारा राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुको स्वागतमा आयोजना गरिने रात्रिभोज रहेको छ ।

भ्रमणको तेस्रो दिन असार १६ गते बिहान प्रधानमन्त्री उद्घाटन सत्रमा सहभागिता हुनेछन् । अपराह्न गेट्स फाउन्डेसनद्वारा आयोजना गरिएको विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम छ ।

दिउँसो १ बजे मित्र राष्ट्र स्तोनियाका महामहिम राष्ट्रपति अलार कारिससँग द्विपक्षीय बैठक हुनेछ । ‌प्रधानमन्त्रीले अल्प विकसित राष्ट्रहरु (एलडीसी) को अध्यक्षका हैसियतमा सम्मेलनलाई सम्बोधन गर्नेछन् ।

इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुली, पोर्चुगलका प्रधानमन्त्री लुई मोन्टेनेग्रो र संयुक्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटरेससँग द्विपक्षीय बैठक हुनेछ ।

स्पेन सरकारका प्रधानमन्त्रीद्वारा दिइने औपचारिक रात्रिभोजमा प्रधानमन्त्री सहभागी हुनेछन् ।

चौथो दिन असार १७ गते अल्पविकसित मुलुकको उच्चस्तरीय बैठकको अध्यक्षता गर्नेछन् ।नेपाल सरकार, बंगलादेश, लाओ र संयुक्त राष्ट्रसंघ आवासीय संयोजक (युएनआरसी) को संयुक्त आयोजनामा हुने अल्पविकसित देशबाट दिगो स्तरोन्नतिको लागि सशक्त सहनशीलता तथा जलवायु वित्तीय व्यवस्था (इम्पाओरिङ रेजिलेन्स, क्लाइमेट स्मार्ट फानान्सिङ फर सस्टेनेवल एलडिसी ग्राजुएशन) उच्चस्तरीय साइड–इभेन्टलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन् ।

नेपाल र बुरुण्डीद्वारा सहआयोजना गरिने राष्ट्रप्रमुख/सरकार प्रमुखहरुको पहलमा पानी तथा सरसफाइ वित्तिय स्रोतको प्रवाह शीर्षकको इभेन्टमा उनको अर्को सम्बोधन हुनेछ ।

पाँचौं दिन असार १८ गते हामी सेभियाबाट म्याड्रिड फर्किने कार्यक्रम छ । साँझ नेपाल–स्पेन बिजनेस तथा लगानी प्रवर्धन कार्यक्रममा सहभागी हुनेछन् ।

छैटौं स्वदेश फर्किनुअघि रियल म्याड्रिड फुटबल क्लबका अधिकारीसँग भेटघाटको कार्यक्रम छ । स्पेनमा रहेका नेपाली समुदायसँगको भेटघाटपछि राति १०:४५ बजे दोहाको लागि प्रस्थान गर्ने कार्यक्रम रहेको प्रधामन्त्रीले जानकारी गराएका छन् ।

प्रधानमन्त्रीको टोली असार २० गते स्वदेश फर्कनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *