असारमै पानी नपरेपछि मधेश प्रदेश सुक्खाग्रस्त घोषणा, राहतका लागि संघ सरकारलाई आग्रह गर्ने

असार २७, २०८२

काठमाडौँ — ठाउँठाउँमा भारी वर्षापछि बाढीपहिरोले विध्वंश मच्चाउँदा मधेश प्रदेशलाई भने सुक्खाग्रस्त घोषणा गरिएको छ । नेपालमा गत जेठ १५ गते नै मनसुन भित्रिए पनि मधेश प्रदेशमा भने उल्लेख्य वर्षा हुन सकेको छैन ।

बिहीबार बसेको मधेश प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशलाई सुक्खाग्रस्त घोषणा गरेको सरकारका प्रवक्तासमेत रहेका गृह, सञ्‍चार तथा कानुनमन्त्री राजकुमार लेखीले इकान्तिपुरलाई जानकारी दिए ।

 

रोपाइँ गर्ने बेलामा पनि पानी नपरेपछि प्रदेशलाई सुक्खाग्रस्त घोषणा गरिएको मन्त्री लेखीले बताए । ‘पानी नपरेपछि यहाँका किसान पीडित छन् । किसानलाई के कस्तो राहत र सेवा सुविधा दिन सकिन्छ भनेर संघ सरकारलाई आग्रह गर्ने निर्णय भएको छ । पानी नपरेपछि धान रोप्न मात्र नपाएको होइन, अन्य बाली पनि सप्रेको छैन ।’

प्रदेश सरकार आफैंले पनि केही राहत घोषणा गरेको छ भन्ने प्रश्नमा मन्त्री लेखीले भने, ‘हामीसँग त कुनै स्रोत साधन छैन । पूर्वाधारमा सबैभन्दा बढी बजेट छ । कृषिको बजेट नाजुक भएको छ ।’

बढी धान फल्ने मधेशमा भने रोपाइँ कम भएको छ । देशभरमै सबैभन्दा थोरै मधेश प्रदेशमा १३.६ प्रतिशत रोपाइँ भएको छ । यस प्रदेशमा ३ लाख ७६ हजार ३ सय २७ हेक्टरमा धान रोपाइँ हुन्छ । असार २२ सम्म जम्मा ५१ हजार २ सय ५० हेक्टरमा रोपाइँ भएको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *