एमाले महाधिवेशन ः ओलीलाई आफ्ना मिलाउनै सकस, पोखरेल समूह उम्मेदवार कुर्दै


काठमाडौं ः तेस्रो पटक पार्टीको नेतृत्वको तयारीमा रहेका एमाले अध्यक्ष केपी ओलीलाई आफ्नो समूहका नेता व्यवस्थापनले सकस पारेको छ। आफ्नो समूहसँगै माओवादीका पूर्व नेताहरूलाई समेत पदाधिकारीमा समेट्नुपर्ने बाध्यतामा छन् उनी। तर उता पार्टी नेतृत्वका आकाङ्क्षी ईश्वर पोखरेल समूह भने ओलीको प्यानलमा नअट्ने नेता कुरेर बसेको छ।

११ औँ महाधिवेशनबाट पदाधिकारी १५ मा झारिएको छ भने केन्द्रीय कमिटी पदाधिकारीसहित २ सय ५१ सदस्यीय हुने विधान पारित भएको छ। तर यसले आफ्नै समूहका नेता व्यवस्थापनमा समस्या भएपछि ओली समूह केन्द्रीय समितिको बैठकबाट विधान संशोधन गर्न लागेको छ।
नयाँ पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष पद छैन। तीन उपाध्यक्षमा समस्या देखिएको छैन। ओलीकोतर्फबाट विष्णु पौडेल, गुरु बराल र नेकपाहुँदा माओवादीबाट आएर यतै बसेका रामबहादुर थापा आकाङ्क्षी देखिएका छन्।
महासचिव मिलाउन भने ओलीलाई समस्या परेको छ। वर्तमान महासचिव शंकर पोखरेल नै सो पदमा दोहोरिने प्रयासमा छन्। तर पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीले पनि महासचिवमा दाबी गरिरहेका छन्। महासचिव नपाए गुरुङले समूह बदल्न सक्ने जोखिम देखिन्छ।

गुरुङ र ज्ञवाली १० औँ महाधिवेशनबाट उपमहासचिव चुनिएका थिए। ओलीले महासचिव पोखरेललाई बनाएर उपमहासचिव गुरुङ, ज्ञवाली र विष्णु रिमाललाई राख्ने प्रयास गरिरहेका छन्।

अहिले रघुवीर महासेठ, लेखराज भट्ट र पद्मा अर्याल सचिव छन्। राजन भट्टराई, खगराज अधिकारी, जगत विश्वकर्मा, भानुभक्त ढकाल, शेरधन राई र महेश बस्नेत लगायतले सचिवमा चासो राखेका छन्। ओली निकट एक नेताका अनुसार सचिव टुङ्गिएका छैनन्। १० औँ महाधिवेशनमा सचिव भएकालाई दोहोर्याएर नयाँमा राजन, खगराज अनि महेश आउनसक्ने ती नेताले बताए।

पोखरेल समूह उम्मेदवार खोज्दै

ईश्वर पोखरेल समूह भने ओली समूहको उम्मेदवार टुङ्गिएपछि मात्र आफ्नो टुङ्ग्याउने रणनीतिमा लागेका छन्। पहिल्यै टुङ्ग्याउँदा असन्तुष्ट हुने ओली समूहका नेताहरूलाई व्यवस्थापन गर्न असहज हुने भएकाले उनीहरू पनि ओली समूहको निर्णय कुरिरहेका छन्।

युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराई, गोकुल बास्कोटा,कर्ण थापा, बिन्दा पाण्डे, विनोद ढकाल लगायत देखिएका छन्।

आकांक्षीहरुमध्ये महासचिवमा मिलाउन केही अप्ठ्यारो देखिए पनि अन्य पद मिलाउन पोखरेल समूहलाई समस्या देखिन्न। महासचिवमा सुरेन्द्र पाण्डेले इच्छा देखाएका छन्।

पृथ्वीसुब्बा गुरुङले कुनै पनि हालतमा महासचिवको उम्मेदवारी नछाड्ने अडान लिइरहेका छन्। ओली शंकर पोखरेललाई महासचिव बनाउन चाहन्छन्। यस्तो अवस्थामा गुरुङ ओली समूह छाडेर पोखरेल समूहमा आउने सम्भावना कायम छ।

सिनमै छैनन् झाँक्री

माओवादीसहितको दलहरूसँग मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेपछि एमालेमै फर्किएकी रामकुमारी झाँक्री कुनै समूहको पदाधिकारीमा देखिएकी छैनन्। उनी एकीकृत समाजवादीमा सचिव थिइन्। किसन श्रेष्ठसँगै एमालेमा फर्किएकी उनको नाम न ओली समूहको पदाधिकारीमा देखिएको छ न त पोखरेल समूहमै उनको नाम देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *