Saturday, May 9News That Matters

अमेरिकी नाकाबन्दी छल्न चीनसँग रेल मार्फत व्यापार बढाउँदै इरान

 

अमेरिकाले लगाएको सामुद्रिक नाकाबन्दीको प्रभाव कम गर्न इरानले चीनसँग रेलबाट हुने व्यापार बिस्तार गरिरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाकाबन्दी अघि चीनको केन्द्रीय सहर सियानबाट सातामा एउटा मालवाहक रेल इरानको राजधानी तेहरान जाने गर्थ्यो। तर अहिले भने प्रत्येक तीन वा चार दिनमा एउटा मालवाहक रेल जाने गरेको ब्लुमबर्गले जनाएको छ।

मालबाहक रेलले लिने भाडा भने उल्लेख्य रूपमा बढेको छ। हरेक ४० फिटको कन्टेनर ढुवानी गर्ने भाडा पहिलेको तुलनामा करिब ४० प्रतिशत बढेको स्रोतहरूको हवाला दिंदै ब्लुमबर्गले लेखेको छ। कजाकिस्तान र तुर्कमेनिस्तान हुँदै इरान जाने यो रेल मार्गले अमेरिकी नाकाबन्दीको क्षतिलाई थोरै मात्रामा मात्र पूर्ति गरे पनि चीनमाथि इरानको निर्भरतालाई भने थप बढाएको छ। अमेरिका र इसराइलले फेब्रुअरी २८ मा सुरू गरेको युद्ध रोक्न अमेरिका र इरानले अप्रिल ७ मा दुई साताको युद्धविराम घोषणा गरेका थिए। त्यसको केही दिनपछि दुई पक्षबीच पाकिस्तानको इस्लामाबादमा वार्ता भएको थियो।
अमेरिकी उपराष्ट्रपति जेडी भान्स र इरानका सभामुख मोहम्मद बाघेर गालिबाफले आ-आफ्नो वार्ता टोलीको नेतृत्व गरेका थिए। तर मुख्यतः इरानको आणविक हतियार कार्यक्रमबारे सहमति जुट्न नसकेपछि उक्त वार्ता बिनानिष्कर्ष टुंगिएको थियो।
अमेरिका र इसराइलले युद्ध सुरू गरेपछि इरानले आफ्नो नजिकै रहेको साँघुरो समुद्री मार्ग स्ट्रेट अफ हर्मुजु बन्द गरेको छ। यो जलमार्ग प्रयोग गरेर विश्वको करिब २५ प्रतिशत कच्चा तेल र करिब २० प्रतिशत ग्यास पैठारी हुन्छ। त्यो पैठारी बन्द हुँदा तेल आपूर्ति कम भएर अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेको छ। यसले विश्व अर्थतन्त्रमा नराम्रो प्रभाव परेको छ।
सुरूमा इरानले मात्र हर्मुज बन्द गरेको थियो। अरूका पानीजहाज रोके पनि इरानी तेल बोकेका जहाजहरू चलिरहेका थिए। अरू देशका केही जहाजलाई पनि महँगो शुल्क लिएर इरानले छोडिरहेको थियो। यस कारण इरानले युद्ध सुरू भएको बेलाभन्दा धेरै आम्दानी गरिरहेको थियो।
पाकिस्तानमा भएको वार्ता असफल भएपछि अप्रिल १३ देखि ट्रम्पले पनि हर्मुजमा इरानमाथि नाकाबन्दी लगाए। त्यसपछि इरानको आम्दानीको स्रोत सुकेको छ। इरानमा अत्यावश्यक उपभोग्य वस्तुहरूको आपूर्ति पनि कम भइरहेको मानिन्छ। त्यसैले इरानले रेलमार्फत चीनसँग व्यापार बढाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *