Monday, May 4News That Matters

एमाले महाधिवेशनमा ओली र ईश्वर पोखरेल प्यानलसहित भिड्दै, यस्तो बन्यो पोखरेलको टिम

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि काठमाडौँको भृकुटीमण्डपमा आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा सहभागी अध्यक्ष केपी शर्मा ओली लगायत । तस्बिरः चन्द्रकला क्षेत्री /रासस

काठमाडौं ः एमालेको जारी ११औं महाधिवेशन अन्ततः चुनावी प्रक्रियामा होमिएको छ। नेतृत्व चयनमा सर्वसम्मतिको प्रयास सफल हुन नसकेपछि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिने भएका छन्।

महाधिवेशनको बन्द सत्र चलिरहँदा दुवै पक्षले आ–आफ्नो उम्मेदवारको टुंगो लगाउने अन्तिम तयारी गरेका छन्। यसैक्रममा ईश्वर पोखरेल नेतृत्वको समूहले पदाधिकारीका उम्मेदवारहरूको नाम करिब टुंगो लगाएको छ।
ईश्वर पोखरेल समूहबाट अध्यक्ष पदमा पोखरेल स्वयंले उम्मेदवारी दिँदै छन्। यो समूहले महासचिवमा वर्तमान उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई अघि सारेको छ। यसअघि महासचिवमा गोकर्ण विष्ट र योगेश भट्टराईको दाबी रहे पनि विष्टलाई उपाध्यक्ष र भट्टराईलाई उपमहासचिवमा उम्मेदवार बनाउने सहमति जुटेको छ।
पोखरेल प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट, परशुराम मेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपाल छन्। यद्यपि नेपालको नाम भने टुंगो लाग्नै बाँकी रहेको स्रोत बताउँछ।

यस्तै उपमहासचिवमा योगेश भट्टराईको नाम अगाडि आएको छ। यसका अलावा बैजनाथ चौधरीको नाम पनि सूचीमा छ भने थप एक जनाबारे पनि छलफल जारी छ।

सचिवमा रचना खड्का, विनोद ढकाल, कर्ण थापा, ठाकुर गैरे, इन्द्रलाल सापकोटा, पुरुषोत्तम पौडेल, कृष्णगोपाल श्रेष्ठ र गोकुल बास्कोटा रहेका छन्। बाँकी एक जनाबारे छलफल भइरहेको छ।

अध्यक्ष ओली पक्षले पनि आफ्नो प्यानल घोषणा गर्ने तयारी गरिरहेको छ। ओली पक्षको प्यानल आएपछि पोखरेल समूहले आफ्ना उम्मेदवारमा केही हेरफेर गर्न सक्ने सचिवका आकांक्षी योगेश भट्टराईले जानकारी दिएका छन्।

वरिष्ठ उपाध्यक्ष पद खारेज, ३०१ सदस्यीय केन्द्रीय कमिटी
महाधिवेशनको बन्द सत्रअघि बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको विधान संशोधन गर्दै ‘वरिष्ठ उपाध्यक्ष’ पद खारेज गर्ने निर्णय गरेको छ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अब एमालेको केन्द्रीय कमिटी ३०१ सदस्यीय हुनेछ।

नयाँ संरचनाअनुसार पदाधिकारीमा १ अध्यक्ष, ५ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ९ सचिव रहनेछन्। यसबाहेक ३३ स्थायी कमिटी र ९९ पोलिटब्युरो सदस्य रहने व्यवस्था गरिएको छ।

यसअघि विधान महाधिवेशनले २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी र वरिष्ठ उपाध्यक्षसहितको संरचना तय गरेको थियो, जसलाई आज हेरफेर गरिएको हो।

यस्तो छ निर्वाचन कार्यतालिका
नयाँ नेतृत्व चयनका लागि निर्वाचन समितिले आजको कार्यतालिका सार्वजनिक गरेको छ।

जसअनुसार बिहान १०ः३० देखि दिउँसो १ः३० सम्म उम्मेदवारको दरखास्त फाराम दर्ता, दिउँसो २ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, दिउँसो २ः३० देखि ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिने तालिका रहेको छ।

साथै दिउँसो ३ः१० बजे उजुरीमाथि छानबिन र निर्णय, दिउँसो ३ः१० देखि ५ बजेसम्म उम्मेदवारी फिर्ता र साँझ ६ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ।

आज मनोनयन र अन्तिम नामावली प्रकाशनको काम सकिएपछि मतदानको प्रक्रिया अघि बढ्नेछ। महाधिवेशनको बन्द सत्र भृकुटीमण्डपमा जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *