
काठमाडौं । टि-२० विश्वकपमा सान्त्वना जितका साथ नेपालले आइसिसी टि ट्वान्टी विश्वकपको यसपटकको यात्राको अन्त्य गरेको छ।
समूह चरणको अन्तिम खेलमा नेपालले स्कटल्याण्डलाई ७ विकेटले हराएको हो।
नेपालले सन् २०१४ पछि विश्वकपको कुनै पनि खेल जितेको पहिलो पटक हो । विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले १२ वर्षपछि जित दर्ता गरेको हो।
- दीपेन्द्र सिंह ऐरी र गुलशन झाले चौथो विकेटका लागि ७३ रनको साझेदारी गरेपछि १ सय ७१ लक्ष्य नेपालले ४ बल बाँकी रहँदा पूरा गर्यो । दीपेन्द्र ५० र गुलशन २४ रनमा नटआउट रहे ।
नेपालका लागि दीपेन्द्रले २० औँ ओभरको पहिलो बलमा एक रन लिँदै अर्धशतक पूरा गरे । उनले २३ बलमा ४ चौका र ३ छक्का सहयोगमा अर्धशतक पूरा गरेका हुन्।
जारी विश्वकपमा यो दीपेन्द्रको यो लगातार दोस्रो अर्धशतक हो। यसअघि उनले वेष्ट इण्डिजविरुद्ध अर्धशतक हानेका थिए। गुलशनले १७ बलमा १ चौका र २ छक्का प्रहार गरे।
ओपनर कुशल भुर्तेल ३५ बलमा १ चौका ६ छक्कासहित ४३ रन बनाउँदा माइकल लिस्कको बलमा क्याच आउट भए।
अर्का ओपनर आशिफ शेख २७ बलमा २ छक्का सहयोगमा ३३ रन बनाउँदा लिस्क कै बलमा क्याच आउट भए। कुशल र आसिफले पहिलो विकेटका लागि ७४ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए।
कप्तान रोहित पौडेल १४ बलमा १ चौका मद्दतमा १६ रन बनाउँदा लिस्क कै बलमा क्याच आउट भए ।स्कटल्यान्डका लागि सबै ३ विकेट लिस्कले लिए।
मुम्बईको वानखेडे स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७० रनको बनाएको छ ।
पहिलो विकेटका लागि ओपनर जर्ज मुन्से र माइकल जोन्सले १० ओभरमा ८० रनको साझेदारी गर्दै स्कटल्यान्डलाई उत्कृष्ट सुरुवात दिलाए।
१० औँ ओभरको अन्तिम बलमा नेपाली टोलीका कप्तान रोहित पौडेलले अोपनर मुन्सेलाई सन्दीप जोराको हातबाट क्याच आउट गराउँदै साझेदारी तोडेका हुन्। मुन्से २९ बलमा ४ चौका सहयोगमा २७ रनमा क्याच आउट भए।
त्यसअघि १० औँ ओभरको पाचौँ बलमा जोन्सले ३१ बलमा ६ चौका र २ छक्कासहित अर्धशतक पूरा गरे। त्यसको दोस्रो बलमा जर्ज आउट भए।
दोस्रो विकेटका लागि जोन्स र ब्रान्डोन म्याक मुलेनले ५२ रनको साझेदारी गरे। १६ औँ ओभरको दोस्रो बलमा माइकल जोन्स सोमपाल कामीको बलमा बोल्ड आउट भए। ४५ बलमा ८ चौका र ३ छक्कासहित ७१ रनमा जोन्स आउट भए।
१६ औँ ओभरको चौथो बलमा २५ रन बनाएका ब्रान्डोम सोमपाल कै बलमा कट एण्ड बोल्ड हुन पुगे। ब्रान्डोमले १९ बलमा १ चौका र १ छक्का प्रहार गरे।
कप्तान रिची बेरिङटोन १० रन बनाउँदा कुशलको बलमा सन्दीप जोराको हातबाट क्याच आउट हुन पुगे।
म्याथु क्रस ४ रनमा नन्दन यादवको बलमा बोल्ड आउट भए। टोम ब्रुस ५ रन बनाउँदा सोमपाल कै बलमा बोल्ड लिस्क ४ रन बनाउँदा नन्दनको बलमा आशिफ शेखको हातबाट आउट भए। मार्क वाट १० ओलिभर डेविडसन १ रनमा अविजित रहे।
नेपालका लागि सोमपालले सर्वाधिक ३ विकेट लिए। सोमपालले आफ्नो स्पेलमा २५ रन दिए। नन्दनले २ विकेट आफ्नो नाममा गरे। कप्तान रोहित र कुशल भुर्तेलले समान १ विकेट लिए।
नेपालले पहिलो पटक विश्वकप खेल्दा २०१४ मा हङकङलाई ८० रन र अफगानिस्तानलाई ९ रनले हराएको थियो। त्यसयता नेपालले विश्वकपमा जित निकालेको पहिलो पटक हो।

