Thursday, April 30News That Matters

नारीवादसम्बन्धी कला प्रदर्शनी माघ १२ गतेदेखि

काठमाडौँ, १० माघः दक्षिण एसियाली महिला कलाकारको नारीवादसम्बन्धी बृहत् कला प्रदर्शनी आयोजना हुने भएको छ । यही माघ १२ गतेदेखि काठमाडौँमा सुरु हुने प्रदर्शनीमा दक्षिण एसियाका दश जना महिला कलाकारले आफ्ना सृजना प्रदर्शन गर्नेछन् ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा ‘फेमिनिस्ट फ्युचरः आर्ट, एक्टिभिजम एण्ड साउथ एशियन वुमनहुड’ शीर्षकको प्रदर्शनीले दक्षिण एशियामा नारीवाद, कला र सक्रियताका जटिल पक्ष उजागर गर्ने जानकारी दिइयो ।

डा अर्शिया लोखन्डवालाको परिकल्पनामा आयोजना हुन लागेको प्रदर्शनीले पितृसत्तात्मक संरचना, परम्परागत सोच र लैङ्गिक राजनीतिजस्ता विषय सम्बोधन गर्ने जनाइएको छ । तारागाउँ नेक्स्टको आयोजना र सराफ फाउन्डेसनको सहकार्यमा काठमाडौँको बौद्धस्थित तारागाउँ सांस्कृतिक केन्द्रमा हुने प्रदर्शनी सर्वसाधारणले तीन महिनासम्म अवलोकन गर्न सक्नेछन् ।

“म नेपालसँग लामो समयदेखि परिचित छु, यहाँको समाज र महिलाको अवस्थाबारे पनि केही जानकारी छ, त्यसैले नेपालमा यस प्रकारको प्रदर्शनी आयोजना गर्न खोजिरहेकी थिए, धेरै वर्ष अगाडि आउँदा जीवित देवी कुमारीको दर्शनपछि यस विषयमा प्रदर्शनी गर्नुपर्छ भन्ने लागेको थियो”, डा लोखन्डवालाले भन्नुभयो ।

प्रदर्शनीमा भारतका चार, नेपालका तीन र श्रीलङ्का, पाकिस्तान र बङ्गलादेशका एक÷एक महिला कलाकारका सृजना रहनेछन् । आयोजकका अनुसार भारतीय कलाकारहरु अनिता दुबे, मिथु सेन, शेबा छाच्छी र पुष्पमाला, नेपाली कलाकार अश्मिना रञ्जित, विधाता केसी र उमा विष्टसँगै श्रीलङ्काकी अनोली पेरेरा, पाकिस्तानकी नाइजा खान र बङ्गलादेशकी तायबा बेगम लिपिका सृजना प्रदर्शनीमा रहनेछन् । सबै कलाकारले कलामार्फत पारम्परिक लैङ्गिक भूमिकालाई चुनौती दिँदै महिलाको स्वायत्तता र समाजिक संरचनाहरूको प्रभाव उजागर गर्ने प्रयास गर्नेछन् ।

“प्रदर्शनीले दक्षिण एसियाली महिला कलाकारको शक्तिलाई उजागर गर्नेछ”, डा लोखन्डवालाले भन्नुभयो, “कलामार्फत गहिरो गरी समाजमा व्याप्त पितृसत्तात्मक संरचनाहरूको विरोध र सोचमा परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्नेछ ।”

नेपालको महिला अधिकारसँग सम्बन्धित मुद्दालाई दक्षिण एशियाली देशका महिला अधिकारका विषयसँग सम्बन्धित सङ्घर्षसँग जोड्ने प्रयासस्वरूप प्रदर्शनी आयोजना गरिएको सराफ फाउन्डेशन तथा तारागाउँ नेक्स्टकी संस्थापक निर्देशक नमिता साराफको भनाइ छ । “प्रदर्शनीमार्फत भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशका महिलाको सङ्घर्षसँगै नेपाली महिलाका समस्यालाई प्रकाशमा ल्याउन चाहन्छौँ”, उहाँले भन्नुभयो ।

प्रदर्शनीमा विभिन्न समकालीन मुद्दाहरूलाई अन्वेषण गर्ने सृजनासमेत समावेश छन् । पुष्पमाला एनको ‘अभेगा– द प्यासन (२०१२)’ ले रामायणका महिलाका पात्रहरूको पारम्परिक चित्रणलाई चुनौती दिँदै उनीहरूको सशक्त पक्षबारे उजागर गर्नेछ ।

अश्मिना रञ्जितको ‘सीता ! द आइडियल वाइफ (२०२५)’ ले महिलाको अधिकार र स्वतन्त्रता खोस्ने हिन्दू परम्पराअनुसारको विवाहमा गरिने ‘कन्यादान’ प्रथाको आलोचना गर्नेछ । त्यस्तै, तायबा बेगम लिपिले आफ्ना सृर्जनामा विवाहको जटिलता र हिंसात्मक प्रवृत्तिलाई चित्रित गर्दै हुनुहुन्छ । उमा विष्टले छाउपडी प्रथाको आलोचना गर्दै नेपाली महिलाका सङ्घर्षलाई प्रस्तुत गर्ने जनाइएको छ ।

विधाता केसीले कलामार्फत महिलालाई आफ्ना आकाङ्क्षा व्यक्त गर्न र समाजका अपेक्षालाई चुनौती दिनुहुनेछ । अनिता दुबे, नाइजा खान र अनोली पेरेराले आफ्नो कलामार्फत महिला सशक्तीकरण र स्वतन्त्रताका विषय उठन गर्नेछन् ।

प्रदर्शनीको औपचारिक उद्घाटनका दिन कलाकार अश्मिना रञ्जितको विशेष प्रस्तुति रहनेछ । साथै प्रदर्शनीको पहिलो दिन शनिबार दिउँसो ३ बजे कलाकारले अनुभव साझा गर्ने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *