काठमाडौँ — अघिल्लो शुक्रबारदेखि प्रत्यक्ष युद्धमा होमिएका थिए, इजरायल र इरान । इजरायली आक्रमणबाट इरानका कैयौं संरचना क्षतिग्रस्त बनिरहेका बेला आइतबार बिहान अचानक अमेरिका प्रवेश गर्यो । र, उसले इरानको फोर्दो, नतान्ज र इस्फाहानका परमाणु केन्द्रमा हवाई आक्रमण गर्यो ।
अमेरिकाको यो आक्रमणबाट ठूलो क्षति नभएको र परमाणुसँग सम्बन्धित सबै संरचना पहिल्यै सारिसकिएको इरानको दाबी छ ।
तर यो आक्रमणसँगै अमेरिका पनि इरान–इजरायलबीचको युद्धमा होमिइसकेको छ । विश्वभरका नेताहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यो कदमलाई लिएर आलोचना गरेका छन् ।
राष्ट्रपति ट्रम्पले भने शान्ति वार्ताको वातावरण बनाउन आक्रमण गरिएको बताएका छन् । यदि अब पनि इरान शान्ति वार्ताका लागि तयार नभए अझै आक्रमण बढ्ने चेतावनीसमेत उनले दिएका छन् ।
ट्रम्पले इरानसँग परमाणु हतियार हुनु इजरायलका लागि मात्र नभई अमेरिका र पूरै विश्वका लागि खतरनाक रहेको बताएका छन् । आफ्ना वायु सेनाको प्रशंसा गर्दै आक्रमण सफल भएको उनले उद्घोष पनि गरेका छन् ।
अमेरिकाले फोर्दोलाई लिएर पहिल्यैदेखि तयारी गरिरहेको थियो । यो केन्द्र जमिनभन्दा मुनि थियो । करिब ९० मिटरको गहिराइमा रहेको यो केन्द्रको बनावट कुनै पनि देशले हवाई आक्रमणबाट नष्ट गर्न नसक्नेगरी बनाइएको थियो ।
इजरायलका पूर्व रक्षामन्त्री योव ग्यालेन्टले अमेरिकाको यो आक्रमणलाई लिएर खुसी व्यक्त गरेका छन् उनले ट्रम्पको निर्णय कडा रहेको र अब विश्व सुरक्षित हुने विश्वास गरेका छन् ।
अमेरिकामै विरोध
ट्रम्पका तर्फबाट इरानका तीनवटा परमाणु क्षेत्रमा भएका आक्रमणलाई लिएर अमेरिकाभित्रै विरोध सुरु भएको छ । कैयौं रिपब्लिक नेताहरुले ट्रम्पको तारिफ गरेका छन् भने केही डेमोक्रेट र रिपब्लिकन सांसदहरुले यो निर्णयलाई असंवैधानिक र खतरनाक बताएका छन् ।
रिपब्लिकन सांसद थोमस मेसीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘यो आक्रमण संविधानविपरीत छ ।’ यस्तै डेमोक्रेटिक सांसद सारा ज्याकब्सले इरानमाथि गरिएको आक्रमण असंवैधानिक र अमेरिकालाई यसले एक अन्तहीन युद्धतर्फ धकेल्ने टिप्पणी गरेकी छन् ।
यता रिपब्लिकन सांसद एन्डी ह्यारिसले यसलाई ‘शक्तिको माध्यमबाट शान्ति’ रुपमा टिप्पणी गरेका छन् । उनले लेखेका छन्, ‘परमाणु हतियारले पूर्ण इरान अमेरिका, इजरायल र पूरै स्वतन्त्र विश्वका लागि खतरा हो ।’
रिपब्लिकनकै सांसद डन बेकनले पनि ट्रम्पले अमेरिकाको रक्षा गरिरहेको बताएका छन् । यस्तै सिनेटर लिन्डसे ग्राहमले आक्रमणलाई सही निर्णय बताउँदै अमेरिकी वायुसेनाको प्रशंसा गरेका छन् ।
ट्रम्प र नेतान्याहुबीच कुराकानी
परमाणु क्षेत्रमा हवाई आक्रमणपछि अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच कुराकानी भएको छ । सीएनएनका अनुसार व्हाइट हाउसका दुई जना अधिकारीले यस कुराकानीबारे जानकारी दिएका छन् ।
नेतान्याहुले ट्रम्पलाई बधाई दिँदै धन्यवाद समेत व्यक्त गरेका छन् । नेतान्याहुले भनेका छन्, ‘धन्यवाद राष्ट्रपति ट्रम्प, तपाईंले इरानका परमाणु क्षेत्रमा आक्रमण गर्ने कडा कदम उठाउनुभयो । यसले इतिहास परिवर्तन गर्नेछ ।’
उनले ‘अप्रेसन राइजिङ लायन’ अन्तर्गत इरानमा कैयौं प्रभावकारी आक्रमण गरे पनि अमेरिकी आक्रमण वास्तवमै बेजोड रहेको भन्दै प्रशंसा गरेका छन् । उनले अमेरिकाले आज गरेको आक्रमण विश्वमा अरु कुनै देशले गर्न नसक्ने पनि बताएका छन् ।
६ बंकरमा बम खसालियो
फक्स न्युजका अनुसार अमेरिकी सेनाले फोर्दोको न्युक्लियर साइटमा ५ देखि ६ वटा बी–२ बम्बर अर्थात् बंकर ध्वस्त पार्ने बम खसालिएको छ । पहिले फोर्दो न्युक्लिएर साइट नष्ट गर्न दुईवटा बंकर बस्टरको आवश्यक पर्ने अनुमान गरिएको थियो । यता इस्फाहान र नतान्जमा ३० टमहक क्रुज मिसाइल प्रहार गरिएको छ । यिनलाई ४ सय माइल टाढा अमेरिकी पनडुब्बीबाट लञ्च गरिएको थियो ।
संयुक्त राष्ट्रसंघद्वारा चिन्ता व्यक्त
संयुक्त राष्ट्रसंघले इजरायल र इरानबीच बढ्दो संघर्षमा आफ्नो चिन्ता व्यक्त गरेको छ । महासचिव एन्टोनियो गुटेरेसले अवस्था निकै खतरनाक भइसकेको र अब यो युद्ध तीव्र गतिमा नियन्त्रणबाहिर जानसक्ने चेतावनी दिउका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै यो संकटपूर्ण अवस्थामा अराजकतालाई रोक्नुपर्ने बताएका छन् । उनले यो अवस्थाको कुनै सैन्य समाधान हुन नसक्ने भन्दै संवादका माध्यमबाट समस्या समाधान गरिनुपर्ने धारणा राखेका छन् ।
अमेरिकी आक्रमण अन्तर्राष्ट्रिय कानुनको उल्लंघन : इरान
इरानको परमाणु ऊर्जा संस्था आईओआईले परमाणु क्षेत्रमा गरिएको अमेरिकी आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन रहेको बताएको छ । परमाणु अप्रसार सन्धिको समेत अमेरिकाले उल्लंघन गरेको इरानको आरोप छ ।
मेहर न्युजका अनुसार एजेन्सीले एक वक्तव्य जारी गर्दै अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीको निगरानीमा काम भइरहे पनि अमेरिकाले आक्रमण गरेको बताएको छ । यसमा एजेन्सीले केही नबोल्नु शंकास्पद भएको इरानको भनाइ छ ।
आईओईले अमेरिकाले आफ्ना राष्ट्रपति ट्रम्पमार्फत यी आक्रमणको जिम्मेवारी लिएको बताएको छ । यस्तै आईओईले दुस्मनको अनेक कोसिसका बावजुद पनि हजारौं वैज्ञानिक र विशेषज्ञको अथक मेहनतबाट इरान आफ्नो परमाणु कार्यक्रमलाई अगाडि बढाइराख्ने बताएको छ ।
यस्तै अमेरिकी आक्रमणमा परमाणु क्षेत्रमा कुनै प्रकारको रेडिएसन लिक नभएको बताएको छ । इरानी परमाणु ऊर्जा संस्थाले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै रेडिएसनको मापन गर्ने मेसिनबाट जाँच गर्दा लिक नभएको बताएको हो । यी क्षेत्र अब स्थित र सुरक्षित रहेको उक्त संस्थाको दाबी छ ।
यस्तै इरानी विदेशमन्त्री अब्बास अराकचीले इरानलाई आत्मरक्षाको अधिकार भएको बताएका छन् । इरान आफ्ना नागरिकको सम्प्रभुता र हितको रक्षाका लागि विकल्प अपनाउने चेतावनी दिएका छन् ।
अमेरिका स्वयं संयुक्त राष्ट्र सुरक्षा परिषद्को स्थायी सदस्य रहेको र उसले अब इरानको शान्तिपूर्ण परमाणु क्षेत्रमा आक्रमण गरेर अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन गरेको उनको भनाइ छ ।
इजरायलमा स्कुल कलेज पनि बन्द
इजरायलले आइतबार स्कुल, कार्यालय, भिडभाड हुने क्षेत्रका साथै अन्य सबै सार्वजनिक कार्यक्रममा रोक लगाएको छ । रक्षामन्त्री इजरायल कात्जले अवस्थालाई मध्यनजर गर्दै यो निर्णय गरिएको बताएका छन् ।
इजरायलको होम फ्रन्ट कमान्डका अनुसार अब देशभर अत्यावश्यक कामका लागि मात्र अनुमति दिइनेछ । सरकारले नागरिकहरुलाई सुरक्षित क्षेत्रमा रहन अनुरोध गरेको छ । फ्रन्ट कमान्डका आधिकारिक च्यानल, राष्ट्रिय आपतकालीन पोर्टल र मोबाइल एपमा दिएका निर्देशनहरुलाई पालना गर्न पनि इजरायलले आफ्ना नागरिकलाई अनुरोध गरेको छ ।
हुथी र हमासद्वारा विरोध
हमासले इरानमा अमेरिकी आक्रमणको निन्दा गर्दै यसलाई खुला आक्रमण भएको बताएको छ । आफ्नो वक्तव्यमा हमासले यो आक्रमण अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन भएको बताएको छ । यस्तै यस आक्रमणबाट अब विश्वमा शान्ति र स्थिरताका लागि खतरनाक भएको उसको भनाइ छ ।
यस्तै हुथी विद्रोहीले पनि एक बयान जारी गर्दै यो आक्रमणलाई लिएर आपत्ति जनाएको छ । हुथीले अमेरिकी आक्रमणले अब ‘हिट एन्ड रन’ को अवस्था निम्तिएको टिम्पणी गरेको छ । (एजेन्सीहरुको सहयोगमा)

