काठमाडौँ — परराष्ट्र मन्त्री आरजु राणा देउवा शुक्रबारबाट दुई साताभन्दा लामो विदेश यात्रामा जाँदैछिन् । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको सम्मेलनमा भाग लिन उनी इटली भ्रमणमा जान लागेकी हुन् ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले असार १३ गतेदेखि असार २९ सम्मको उनको यात्रालाई स्वीकृति प्रदान गरेको हो । रोममा हुने खाद्य तथा सुरक्षा संगठनको ४४ औं सम्मेलनमा मन्त्री राणा भाग लिनेछिन् । असार १४–२० सम्म उक्त सम्मेलन हुँदैछ । परराष्ट्र मन्त्रालयले बिहीबार राणाको भ्रमणबारे जानकारी दिएको छ ।
मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार मन्त्री राणाले सम्मेलनको मुख्य सेसनलाई सम्बोधन गर्ने छिन् । मन्त्रीको टोलीमा परराष्ट्र र कृषि मन्त्रालयका अधिकारी सहभागी हुनेछन् । उक्त सम्मेलनपछि परराष्ट्रमन्त्री राणा इटली र जर्मनीमा लगानी बोर्डले लगानी प्रवर्द्धनसम्बन्धी कार्यक्रममा सहभागी हुने छिन् । उनी असार २९ मा स्वदेश फर्किने छिन् ।

