विकास र समृद्धिको आधारस्तम्भ युवा, उद्यम र रोजगारी
काठमाडौँ, २२ चैतः कुनै पनि मुलुकको विकास र समृद्धिको आधारस्तम्भ नै युवा हो । सक्रिय युवाको बाहुल्यता नै कुनै पनि मुलुकको विकास र समृद्धिको मेरुदण्ड हो । कुनै पनि मुलुकका लागि युवाको बाहुल्यता भएको समयावधि ५०–६० वर्षको हुन्छ । त्यसपछिको अवधि भनेको अहिलेका युवा वृद्धावस्थामा प्रवेश गर्ने अवधि हो । यो अवधिमा अधिकांशले केटाकेटीसरह नै बसीखाने आश्रित समुदायमा पर्दछन् । उमेर बढ्दै जाँदा उपचार खर्च पनि बढ्छ र सोही अनुसार स्वास्थ्यकर्मी र अस्पतालको सङ्ख्या वृद्धि गर्नुपर्ने हुन्छ । अन्ततः यसले सरकारकै खर्च बढाउँछ । वृद्धभत्ता, पेन्सनजस्ता सामाजिक सुरक्षाभत्तामा बर्सेनि ठूलो धनराशि बजेटमा छुट्याउनुपर्दा राज्यले ठूलो व्ययभार बोक्नुपर्ने हुन्छ । यसरी एकातिर राज्यको व्ययभार बढ्ने, अर्कोतिर आर्थिक रूपले सक्रिय उमेर समूहको अनुपात घट्दा आर्थिक वृद्धिमा प्रतिकूल असर पर्ने सम्भावना रहन्छ । तर युवाको जोस, जा...










