राहुघाटको ७२ प्रतिशत भौतिक प्रगति

म्याग्दी, १३ पुसः नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ७२ प्रतिशत भौतिक प्रगति भएको छ ।

भारतीय आयात–निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसिएट्सले बाँध, सुरूङ र विद्युत्गृह निर्माणको कामलाई तीव्रता दिएको छ ।

आयोजनाका सिभिल महाशाखा प्रमुख रविन कट्टेलले आगामी २०८२ को असार १५ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित भौतिक संरचना निर्माण र उपकरण जडानको कामलाई तीव्रता दिइएको जानकारी दिनुभयो । “बाँधमा ब्यारेज, छ हजार दुई सय ७० मिटर लामो मुख्य सुरूङ, सर्जसाफ्ट, ठाडो र तेस्रो प्रेसर साफ्ट र टेलरेस डग निर्माण सकिएको छ”, उहाँले भन्नुभयो “स्विचार्ड निर्माण र विद्युत्गृहका उपकरण जडान गर्न थालिएको छ । डिसेन्डर (पानी थिग्राउने पोखरी), पावर इन्टेक, मुख्य सुरूङलाई फिनिसिङ गर्ने र पेनस्टक पाइपलाइन जडानको काम धमाधम भइरहेको छ ।”

मुख्य सुरूङको चार वटा अडिटबाट शुक्रबारसम्म दुई हजार दुई सय ४३ दशमलव आठ मिटर लाइनिङ (ढलान र प्लास्टर) सकिएको सिभिल महाशाखा प्रमुख कट्टेलले बताउनुभयो । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र ५ नम्बर वडा झिँको सिमानामा १७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त (पिआरओआर) प्रविधिको बाँध र तिल्केनीचौरमा विद्युत्गृह निर्माणाधीन छ ।

सिभिलतर्फ ७२ र इलेक्ट्रोमेकानिकलतर्फ ३० प्रतिशत प्रगति भएको आयोजनाको सिभिल ठेकेदारसँग विसं २०७४ मङ्सिर महिनामा ठेक्का सम्झौता भएको थियो । ठेक्काको ४५ महिनाको अवधिमा कोरोना महामारी, बाढी र पहिरोका कारण काम सम्पन्न हुन नसकेपछि ३० महिना म्याद थपिएको छ ।

कमजोर आर्थिक अवस्थाका कारण विसं २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपिसी) प्रारूपमा राहुघाट जलविद्युत् आयोजना निर्माण अघि बढाइएको थियो । पहिलो कार्यतालिका र सम्झौताअनुसार आयोजना विसं २०७० मा सकिनुपर्ने थियो ।

पहिले ३२ मेगावाटमा डिजाइन गरिएकोमा पछि आठ मेगावाट बढाएर ४० मेगावाट पुर्‍याइएको हो । बेनी–जोमसोम–कोरला सडकको घुमाउनेतालदेखि ११ किलोमिटर पहुँचमार्ग र एक वटा ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरी विद्युत्गृह र बाँधलाई सीधा सडकले जोडिएको छ । राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी कोरिडोरअन्तर्गत दुई सय २० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा लिलो (लुप इन, लुप आउट) माध्यमबाट जोडिने छ । चार वटा टावर र प्रसारण लाइन पनि बनिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

इजरायलद्वारा दश जना प्यालेस्टिनीको रिहाइ

इजरायली सेनाले गाजा क्षेत्रमा सञ्चालन गरेको पछिल्लो सैनिक अभियानको क्रममा पक्राउ परेका दश जना प्यालेस्टिनीलाई रिहा गरेको जनाएको ...

रुसको आर्थिक वृद्धिदर पहिलो त्रैमासिकमा १.४ प्रतिशतमा सीमित

सन् २०२५ को पहिलो त्रैमासिकमा रुसको सकल घरेलु उत्पादन (जीडीपी) अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.४ प्रतिशतले वृद्धि भएको प्रा...

युक्रेनमा भएको रूसी आक्रमणमा नौ जनाको मृत्यु

उत्तरी युक्रेनको सुमी क्षेत्रमा यात्रु बोकेको सानो बसमा भएको रूसी मानवरहित हवाई यन्त्र (ड्रोन) आक्रमणमा परी नौ जनाको मृत्यु भएको...

अमेरिकी अदालतको फैसलाले सरकारको आप्रवासी नीति प्रभावित: ट्रम्प

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अमेरिकी सर्वोच्च अदालतको पछिल्लो निर्णयप्रति आफ्नो गम्भीर असन्तोष ...