Sunday, April 19News That Matters

बेपत्ता पत्रकारको खोजीका लागि सिरियाली नयाँ नेताद्वारा प्रतिवद्धता

सिरियामा सन् २०१२ मा बेपत्ता भएका अमेरिकी पत्रकार अस्टिन टाइसकी आमा डेब्रा टाइसले सोमबार दमास्कसमा युद्धग्रस्त सिरियाको नयाँ नेतृत्व आफ्नो छोराको खोजीका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ ।

सन् २०१२ को अगष्टमा एक चेकप्वाइन्टमा पक्राउ परेका टाइस एजेन्स फ्रान्स–प्रेस(एएफपी), म्याकक्लाची न्यूज, द वासिङ्टन पोस्ट, सिबिएस र अन्य सञ्चार माध्यमका लागि स्वतन्त्र पत्रकारका रूपमा कार्यरत हुनुहुन्थ्यो ।

सिरियाका नयाँ नेता अहमद अल–शरासँगको वार्तापछि दमास्कसमा पत्रकारसँग कुरा गर्दै टाइसले भन्नुभयो, “मलाई सिरियाको नयाँ नेतृत्वसँग भेट्ने सौभाग्य प्राप्त भएको छ । सिरियाली नयाँ नेतृत्वले तपाईंहरूको पत्रकार (मेरो छोरा) लाई घर ल्याउन समर्पित र कटिबद्ध रहेको बताएको छ यसले मलाई असाध्यै खुसी बनाएको छ ।”

उहाँले सोमबार अमेरिकी राष्ट्रपतिको रुपमा कार्यभार सम्हाल्नुभएका डोनाल्ड ट्रम्पको आगामी प्रशासनले आफ्नो छोरालाई स्वदेश फर्काउनका लागि काम गर्ने आशा व्यक्त गर्नुभयो ।

“आज नेता ट्रम्पले राष्ट्रपतिको सपथ लिनुहुनेछ र उहाँले सिरियाली सन्दर्भ र अमेरिकी नागरिकका बिषयमा एउटा पृष्ठ बदल्नुहुनेछ,” उहाँले भन्नुभयो ।

उहाँले भन्नुभयो, “मलाई ठूलो आशा छ, ट्रम्प प्रशासन अस्टिनलाई घर फर्काउन लगनशीलरूपमा लाग्नेछ।”

“म राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र राष्ट्रपति विशेष दूत एडम लोगनसहित टोलीसँग नजिकबाट काम गर्न उत्सुक छु।”

डेब्रा टाइसले आफू ट्रम्प प्रशासनसँग सहकार्य गर्न आतुर रहेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो “उहाँका मानिसहरू मकहाँ पुगिसकेका छन्।”

“मैले विगत चार वर्षदेखि यस्तो आश्वासन पाएको थिइन । यसैले म उनीहरूको सहयोग र संलग्नताको लागि धेरै उत्सुक छु, मलाई लाग्छ कि उनीहरू यसलाई छिटो गर्नेछन् ।”

गत महिना अमेरिकी अधिकारीहरूले सिरियाको नयाँ नेतृत्वले टाइसको खोजीमा सहयोग गरेको बताएका थिए।

बन्धकहरूबारे अमेरिकी पोइन्टम्यान रोजर कास्र्टेन्सले भन्नुभयो, “हामीलाई लाग्छ कि अमेरिकी प्रशासनले उहाँ कहाँ हुनुहुन्छ पत्ता लगाउनु र उहाँलाई घर फर्काउनु उसको कर्तव्य हो ।” सिरियाली निरंकुश राष्ट्रपति बसर अल असदलाई सत्ताच्युत गरेपछि अमेरिकी अधिकारीहरूको दमास्कसको पहिलो भ्रमणका क्रममा कास्र्टेन्सले यस्तो टिप्पणी गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *