Thursday, April 30News That Matters

चौबिस वर्षदेखि वनपाखामा भेँडाबाख्रासँग रमाउँदै गुरुङ

लमजुङ, १० माघः लमजुङ दोर्दी गाउँपालिका–५ सिम्रुङका ५२ वर्षीय दुरजङ गुरुङ विगत २४ वर्षदेखि भेडाबाख्रा चराउँदै श्रीमञ्जाङदेखि ओखरी, साल्मे, सिम्रुङ हुँदै लेपेखर्कसम्म पुग्नुहुन्छ । फेरि हिउँद लागेपछि लेपेखर्कदेखि सो स्थान हुँदै श्रीमञ्जाङसम्म भेडाको बथानको पछि लाग्दै पुग्नुहुन्छ । बितेका २४ वर्ष उहाँलाई २४ दिन जस्तै लाग्छ । भेडाबाख्रालाई आफ्नो सन्तान जत्तिकै माया गर्ने उहाँलाई भेडाका बथानको पछि लाग्दालाग्दैसमय बितेको पत्तै पाएन । भेडाबाख्रा पछि लागेको उहाँ आजसम्म तीनै भेडाबाख्राको पछिपछि लागिरहनुभएको छ ।

गोठाला गुरुङ बाबाको मुत्यु, दाइ र ठूलोबाबाहरुले दुःख भयो भनेर गोठ छाडेपछि गुरुङ समुदायको पुख्र्यौली पेसा धान्न, केही पैसा कमाउन र जीवन धान्ने पेसा बनाउनका लागि विसं २०५७ मा कक्षा १० को टेस्ट फेल भएपछि यही गोठ सम्हाल्दै आउनुभएको छ । उहाँले सुरुमा आफ्नोसहित २८ जनाको ८०÷९० वटा भेडाबाख्रा रहे पनि अहिले सङ्ख्या बढाउँदै दूधपोखरी गाउँपालिका–६ जोर्नेको २१ घर र सिमु्रङको गरी ४५ घरका सानाठूला गरेर आठ सयभन्दा बढी भेडाबाख्रा रहेका सुनाउनुभयो । उहाँलाई तीन जनाले सघाउँदै आएका छन् ।

मान्छेबाहेक चारवटा कुकुरले पनि सुरक्षा दिँदै आएको छ । यतिका भेडाबाख्रा हुनुअघि करिब पाँच वर्षअघि सात सयवटा रहेको र एकै चोटि तीन सयवटा भेडाबाख्रा बिक्री गरेको र चार सय सङ्ख्याबाट बढ्दै हाल सो सङ्ख्यामा पुगेको भंडी गोठाला गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “यस भेडीगोठबाट बर्सेनि १५÷१६ लाख बराबरको भेडाबाख्रा बिक्री हुने गरेको छ । भेडा एक वर्षकोलाई १५ हजार, दुई वर्षकोलाई २० हजार तथा तीन वर्षकोलाई ३० हजार, यसरी नै बिक्री हुने गरेको बताइएको छ ।

विशेषगरी दसैँतिहार, मङ्सिर, पुस र फागुन महिनामा भेडाबाख्राको माग हुने गरे पनि विगतको वर्षहरुमा जस्तो अचेल बिक्री कम हुन थालेको छ । पहिला भेडाबाख्रा जताततै थिएनन्, अहिले घरघरमै हुन थालेपछि माग घट्न थालेको भेडीगोठाला गुरुङले दुखेसो गर्नुभयो । गोठका लागि प्रतिदाताहरुले कम्तीमा एक हजारदेखि माथि दिने गर्ने र अन्नपानी पनि दिने गरेको र सोही भरमा आफूहरुले गुजारा चलाउँदै आएको उहाँले सुनाउनुभयो । उहाँले तीनजना गोठालाहरुलाई वार्षिक रु एक÷एक लाख दिने गरेको र आफूले अन्य खर्च गरेर लिने र नरहे नलिने गरेको बताउनुभयो । भेडी बाख्राले अरूको अन्नबाली खाएमा क्षतिपूर्ति दिने गरेको छ ।

चरन क्षेत्र अभाव, खर्क जानेआउने बाटो समस्या, मौसम परिवर्तनले विभिन्न समस्या हुँदा भेडीगोठ धान्न गाह्रो भएको र दुःख अनगिन्ती रहेको उहाँले बताउनुभयो । आफूले पालेको भेडाबाख्रा बिक्री गरेर वार्षिक डेढ लाख जति आम्दानी हुने गरेको छ, तर बाघभालुले नोक्सान ग¥यो भने त्यही पनि नहुने उहाँको भनाइ छ । उहाँले यही गोठाला गरेर सो बिक्रीबाट आएको रकमले श्रीमती, दुईवटा छोरी र एक छोराको जीवन चलाउँदै आउनुभएको छ । उहाँले भन्नुभयो, “कान्छी छोरीको त विवाह भयो, यतिबेला कान्छी छोरीबाहेक हाम्रो जीवन यसै पैसाबाट दुःखले चलाएको छु, सुखचैनले जीवन चलाउन पाएन । अरू पेसा पनि जानेको छैन, जेजस्तो भए पनि यही पेसा गरिरहेको छु, यसैमा रमाउनुको विकल्प नभएको गोठाला गुरुङले बताउनुभयो ।

आफ्नो पालासम्म आफूले भेडीगोठ धाने पनि नयाँ पुस्ताले भेडीगोठप्रति बेवास्ता गर्दा भेडीगोठ लोप हुन लाग्यो, चिन्ता लाग्छ, सरकारले नै नयाँ पुस्तालाई प्रोत्साहन गर्दै तालिम दिएर भेडीगोठ जोगाउनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, “चैत–वैशाखमा बेँसीमा घाँस सकिन्छ, लेकमा घाँस पलाउँदैन, हिउँ परिरहन्छ, घाँसको समस्या छ ।” खर्कमा एक भारी दाउरा जोहो गर्न पनि एक दिनभरि लाग्ने गरेको छ । सामुदायिक वनमा चराउनका लागि पनि दैनिक पैसा बुझाउनुपर्छ । कुनै पनि सामुदायिक वनमा अनुमतिबिना भेडाबाख्रा गएमा क्षतिपूर्ति दिँदै आएको उहाँको भनाइ छ । लेक खर्कमा भेडीगोठालाई समस्या नै समस्या भइरहेको हुन्छ । फोन लाग्दैन, फोन लाग्ने ठाउँ खोज्नुपर्छ । सामान्य दुःख बिमार हुँदा जङ्गलकै जडीबुटी खाएर बस्छौँ, तर ठूलो बिरामी भएर वा कुनै घटना घट्दा बेँसीसम्म आउन १० दिन लाग्छ उहाँले भन्नुभयो ।

यसैबीच, दोर्दी गाउँपालिका पशुपन्छी शाखाका कर्मचारी प्रवीण रेग्मीले रु १५ लाख बजेट रहेकाले सबै भेडीगोठका भेडाबाख्रालाई आन्तरिक परजीवीका औषधि खुवाउने औषधिमा डुबाउने मात्र गर्दै आएको बताउनुभयो ।

भेडीगोठ लोप हुन नदिन र गोठालाहरुका लागि विभिन्न कार्यक्रम गर्दै आए पनि हाल पर्याप्त बजेट नभएकाले सबै समस्याको हल हुन नसके पनि आगामी वर्षहरुमा सम्बोधन गर्दै जाने दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *