औँसी नुहाउन एकैदिन १० हजार तीर्थालु मुस्ताङ भित्रिए
मुस्ताङ, १५ चैतः चैतेदसैँ औँसी नुहाउन एकैदिन १० हजारभन्दा बढी तीर्थालु मुस्ताङ भित्रिएका छन् । चैतेदसैँ औँसी तिथिको अघिल्लो दिन आज दिवङ्गत पितृको उद्धारका लागि मुस्ताङको कागबेनीधाममा श्राद्ध, तर्पण र पिण्डदान गर्न धार्मिक श्रद्धालु भक्तजनको घुइँचो लागेको हो ।
जिल्ला प्रहरी कार्यालयले चैतेदसैँ औँसी तिथिमा कागबेनीमा श्राद्ध गर्न आउने तीर्थालुले मुस्ताङका होटल भरिभराउ भएका जनाएको छ । थासाङ गाउँपालिका–४ घाँसाबाट कागबेनीसम्मका अधिकांश होटल श्राद्ध गर्न आउने तीर्थालुले भरिभराउ भइसकेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीले जानकारी दिनुभयो ।
उहाँका अनुसार म्याग्दी र मुस्ताङको सीमावर्ती क्षेत्र थासाङ गाउँपालिकाको प्रहरी चौकी घाँसा चेकपोष्टमा बिहीबार साँझ ५ः०० देखि आज साँझ ५ः०० बजेसम्म नौ हजार पाँच सय ९२ जना तीर्थालु यहाँ भित्रिएका छन् ।
...










