Friday, May 1News That Matters

ऊर्जामन्त्री खड्कासँग नेपालका लागि जर्मनीका कार्यवाहक राजदूतको शिष्टाचार भेट

काठमाडौँ, २८ चैतः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि जर्मनीका कार्यवाहक राजदूत वेन्जामिन साइडेलले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

ऊर्जा मन्त्रालयमा आज भएको भेटमा नेपालको ऊर्जा र सिँचाइ क्षेत्रमा थप सहकार्यका विविध विषयमा छलफल भएको थियो । भेटमा जर्मनीले नेपाललाई गर्दै आएको सहयोगलाई कसरी थप प्रभावकारी बनाएर अगाडि बढ्ने भन्नेबारे छलफल भएको ऊर्जामन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा ऊर्जामन्त्री खड्काले जर्मन सरकारले नेपालको जलविद्युत क्षेत्र वैकल्पिक तथा नविरणीय ऊर्जामा यसअघि गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले नेपालले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको बताउँदै उक्त लक्ष्य प्राप्तिका लागि नेपालको जलविद्युत् आयोजनामा लगानी गर्न जर्मन सरकारलाई आग्रह गर्नुभयो ।

भेटमा कार्यवाहक राजदूत साइडेलले नेपालको ऊर्जा क्षेत्रको विकासमा जर्मनीको निरन्तर साथ र सहयोग रहँदै आएको बताउनुभयो । आगामी दिनमा पनि उक्त साथ र सहयोग निरन्तर रहने उहाँको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *