काठमाडौँ, ६ वैशाखः नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा शुक्रबारदेखि सुरु भएको ‘राष्ट्रिय मूर्तिकला सम्मेलन’ १५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
सम्मेलनले मूर्ति सिर्जना गर्दा चाहिने आवश्यक कच्चापदार्थको उपलब्धतालाई सहजीकरण गर्न कच्चापदार्थको आयातमा भन्सार र अन्य कर छुट हुने कानुनी व्यवस्थासहित १५ बुँदै घोषणापत्र जारी गरेको हो ।
सरकारी निकायबाट सिर्जना गरिने मूर्तिकलाको सम्बन्धमा विद्यमान सार्वजनिक खरिदसम्बन्धी कानुनबमोजिम बोलपत्र आह्वान गर्दा मूर्तिकारले भन्दा निर्माण व्यवसायीले काम पाउने अवस्था हुने र निर्माण व्यवसायीले निर्माण गरेका मूर्ति सिर्जनाका दृष्टिले गुणस्तरीय र कलाको मर्मअनुरूप नहुने हुँदा सार्वजनिक खरिदसम्बन्धी विद्यमान कानुनमा सुधार गरी त्यस्ता मूर्ति वा कला सिर्जना गर्न बोलपत्र आह्वानसम्बन्धी छुट्टै कानुनी प्रावधानको व्यवस्था गर्नुपर्ने माग गरिएको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्थानीय कच्चापदार्थको सहज उपलब्धता र स्थानीय कच्चापदार्थ सङ्कलन र ढुवानीमा कुनै कर दस्तुर नलाग्ने कानुनी व्यवस्था हुनुपर्ने माग पनि गरिएको छ ।
सम्मेलनपछि आज जारी गरिएको घोषणापत्रमा मूर्तिकला सिर्जना गर्दा आधुनिक प्रविधिमैत्री तथा वातावरणमैत्री बनाउन आवश्यक सामग्री आयात गरी व्यवस्थापन गर्न र मूर्तिकलाको सिर्जना गर्नसमेत सरकारीस्तरबाट उपयुक्त स्थान उपलब्ध गराउने व्यवस्थाका लागि पहल गर्ने तथा व्यापारी प्रयोजनका लागि शास्त्रीय विधान र कलाको सिर्जनशीलता, मर्म मर्ने गरी जथाभावी रूपमा मूर्ति सिर्जना गर्ने कार्य भइरहेकाले शास्त्रीय विधान र कलाको मर्म विपरीत नहुने गरी सिर्जना गर्न आवश्यक पहल गर्ने उल्लेख छ ।
मूर्तिकला निर्माण, प्रदर्शनी र त्यसको प्रवर्द्धन गर्न मूर्तिकलाग्राम यथाशीघ्र बनाउन पहल गर्ने, देशका लागि विदेशी मुद्रा भित्र्याउने स्रोतमध्ये महत्वपूर्ण मानिएको नेपाली ललितकला निर्यात गर्दा लाग्ने भन्सार र कर छुट हुने व्यवस्थाका साथै निर्यात गर्दा हुने प्रशासनिक झन्झट निराकरण गरी सहज व्यवस्थाका लागि आवश्यक पहल गर्ने निर्णय पनि गरिएको हार्तम्छालीले जानकारी दिनुभयो ।
सरकारीस्तरबाट मूर्तिकलाको मूल्याङ्कन गर्दा भौतिक साधनको मात्र मूल्याङ्कन नगरी कला सिर्जनाको मूल्यका आधारमा गर्नुपर्ने, मूर्तिकारको स्वास्थ्य बिमा र मूर्तिकार स्वास्थ्य कोष स्थापनाका लागि आवश्यक पहल गर्ने, मूर्तिकलाको प्रतिलिपि अधिकारको सुनिश्चितता गर्न पहल गर्ने निर्णय भएको प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले बताउनुभयो ।
उहाँका अनुसार विद्यालयस्तरको पाठ्यक्रममा मूर्तिकला समावेश गर्न, मूर्तिकला विषयलाई विभिन्न विश्वविद्यालका पाठ्यक्रममा समावेश गर्न, सबै विश्वविद्यालयमा मूर्तिकला विषयसहितको ललितकला विभाग खोल्न, मूर्तिकला विषय अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्न आवश्यक पहल गर्ने, समूहगत रुपमा मूर्ति बनाउँदा कार्य विभाजनका आधारमा पहिचान उल्लेख गरी मूर्तिकारको आत्मसम्मानको कदर गर्नेलगायत निर्णय सम्मेलनले गरेको छ ।
मूर्तिकलाको अध्ययन, अनुसन्धान, मूर्तिकला र कलाकारको अभिलेखीकरणका साथै प्रदर्शनी, कार्यशाला, तथा राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा कला र कलाकारको पहुँच अभिवृद्धि गर्न पहल गर्ने, हाल बनेका सरकारी भवनमा नेपाली कलाकृति÷मूर्तिकला राख्ने व्यवस्थाका लागि सरकारले बजेटको व्यवस्था गर्नुपर्ने, अब बन्ने सरकारी भवनसम्बन्धी बजेट लागत अनुमान गर्दा सोको निश्चित प्रतिशत रकम ललितकलाबाट सजावट गर्नका लागि तोक्ने नीतिगत व्यवस्था गर्नुपर्ने र आगामी दिनमा सर्वसाधरणले बनाउने घरको नक्सा स्वीकृत गर्दा भवनको निश्चित स्थानमा ललितकलाले सजावट गर्नुपर्ने प्रावधान राखी नक्सा पास गर्नुपर्ने कानुनी व्यवस्थाका लागि पहल गर्ने निर्णय भएको प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्लेले जानकारी दिनुभयो ।
सम्मेलनले ललितकलाका विभिन्न विधामध्ये मूर्तिकला विधा अध्ययन गर्न खर्चिलो हुनुका साथै शारीरिक परिश्रम पनि बढी पर्ने, विविध कारणले कम विद्यार्थीले मात्र अध्ययन गर्ने भएकाले यस विधाको अध्ययनका लागि प्रोत्साहन गर्न छात्रवृत्तिसहित अन्य सुविधाको व्यवस्था गर्न आवश्यक पहल गर्ने तथा नेपाली कलाकृति खरिदमा प्राथमिकता दिन पहल गर्ने सम्मेलनले निष्कर्ष निकालेको छ ।
उक्त सम्मेलनको प्रतिष्ठानका कुलपति हार्तम्छाली र प्रतिष्ठानका पूर्वउपकुलपति ठाकुरप्रसाद मैनालीले उद्घाटन गर्नुभएको थियो । कुलपति हार्तम्छालीले सम्मेलनका निष्कर्षले अगामी बाटो तय गर्ने र कलाकारका भावनालाई समेटेर आगामी रणनीति तय गरिने बताउनुभयो ।
प्रतिष्ठानका पूर्वउपकुलपति एवं अग्रज मूर्तिकार मैनालीले प्रतिष्ठानले अन्तरराष्ट्रिय क्षेत्र/संस्थासँग समन्वय गरी विभिन्न अन्तरराष्ट्रिय कार्यशाला तथा कार्यक्रम गरी कला र कलाकारलाई प्रवर्द्धन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । सम्मेलनमा ८० भन्दा बढी कलाकारहरूको उपस्थिति थियो ।