लहानमा श्रमिक महिलाका लागि भवन निर्माण सुरू
सिराहा, १६ असार
लहान नगरपालिका–१२ स्थित भोटियाटोलमा श्रमिक महिलाको सशक्तिकरणका लागि ‘श्रमिक भवन’ निर्माण कार्य सुरू गरिएको छ । महिला श्रमिकको पहिचान, आत्मसम्मान र अधिकार प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण हुने यो भवनको आज एक समारोहबीच शिलान्यास गरिएको हो । रु सोह्र लाख ४४ हजारको लागतमा निर्माण हुन लागेको भवन ‘एक्सन एड’ नेपाल र दलित जनकल्याण युवा क्लब लहानको साझेदारीमा निर्माण हुनेछ ।
आगामी डिसेम्बर ३१ सम्म निर्माण सम्पन्न हुने जनाइएको छ । भवनको शिलान्यास लहान नगरप्रमुख महेशप्रसाद चौधरी, वडा नं १२ का वडाध्यक्ष बद्रीनारायण चौधरी तथा क्लबका कार्यकारी निर्देशक विनोद विसुङ्केले संयुक्त रूपमा गर्नुभयो । कार्यक्रममा दलित जनकल्याण युवा क्लबका कार्यकारी निर्देशक विनोद विसुङ्केले लहानमा श्रमिक महिलाको उल्लेखनीय उपस्थिति रहेकाले उनीहरूका लागि छुट्टै भवनको आवश्यकता महसुस भएको बताउनुभयो ।
...









