काठमाडौँ ।मङ्गलबार, २० जेठ २०८२
मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले सरकारको कमजोरी उठान गर्नु प्रतिपक्षी दलको कर्तव्य भएकाले उनीहरूले राखेको विषयलाई प्रधानमन्त्रीले गम्भीर भएर संवाद गर्नुपर्ने बताएका हुन् ।
भिजिट भिसा प्रकरणमा गहिरोसँग अनुसन्धान हुनुपर्ने र त्यसमा मुछिएका सवैमाथि छानबिन हुनुपर्ने उनले बताए । शर्माले यस सन्दर्भमा अख्तियारले गृहमन्त्रीमाथि अनुसन्धान गरे स्वाभाविक रूपमा पद त्याग गर्नुपर्ने भए पनि अहिले कर्मचारीमाथि मात्रै अनुसन्धान भइरहेको उल्लेख गरे ।
त्यस्तै कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि कुनै प्रश्न र उजुरी नपरेको अवस्थामा राजीनामा माग गरेर प्रतिपक्षी नै अप्ठेरोमा परेको बताए ।
मंगलबार दलहरूबिचको छलफलमा प्रतिपक्षी दलले राजीनामा भन्दा पनि छानबिन समिति गठन गर्नुपर्नेमा जोड दिएको उनले बताए ।
उनले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्नुपर्ने माग जायज नरहेको स्पष्ट पारे ।
कर्मचारीमाथि अनुसन्धान भइरहँदा उजुरी नै नपरेको गृहमन्त्रीको राजीनामा माग गर्नु उचित नभएको उनको भनाइ छ । उनले अघिल्लो गृहमन्त्रीको प्रकरणलाई गाँसेर सदनमा आवेग प्रकट हुन खोजेको जस्तो देखिएको बताए ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा प्रतिपक्षीले राखेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली गम्भीर हुनुपर्ने बताएका छन् ।


