काठमाडौं, असार ८
अमेरिकाले इरानको न्युक्लियर परियोजनामा हमला गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमा पोस्ट लेख्दै अमेरिकाले इरानी न्युक्लियर परियोजनामा हमला गरेको जानकारी दिएका हुन्। उनले फर्दो, नतान्ज र इस्फाहानको आणविक भट्टीमा अमेरिकाले बम खसालेको बताएका हुन्। फर्दोको आणविक भट्टी पहाडभन्दा सैयौं फिट तल बलियो बंकरमा बनाइएको छ। अमेरिकी बमवर्षक विमानले इरानका तीन न्युक्लियर परियोजनामा हमला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पनि लेखेको छ।राष्ट्रपति ट्रम्पले सबै आक्रमण सफल भएको बताएका छन।

‘सबै विमान सुरक्षित घर फर्किसकेका छन्। हाम्रा बहादुर अमेरिकन योद्धाहरूलाई बधाई छ,’ ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्।
इसराइलले इरानविरूद्ध हमलामा सघाउन अगाडि नै अमेरिकालाई आग्रह गरेको थियो। किनकी इरानले जमिनमुनी बनाएका आणविक केन्द्रहरू ध्वस्त पार्ने हतियार अमेरिकासँग मात्रै रहेको बताइन्छ।
यसअघि अमेरिकाले इरानलाई आणविक कार्यक्रम सम्बन्धी वार्ता र सहमतिमा आउनका लागि दुई साताको समय दिएको थियो। यद्यपि उसले त्यसअघि नै समयअगाडि नै इरानमाथि हमला गरेको हो।
अमेरिका इसराइलसँग मिलेर हमला गरे मध्यपूर्वमा भएका उसका सैन्य संरचनामा जबाफी हमला गर्ने चेतावनी यसअघि नै इरानले दिएको थियो।