
२० माघ काठमाडौं । रुपन्देहीको ओमसतियामा मंगलबार बिहान स्कुल बस र ट्याक्टर एकआपसमा ठोक्किँदा २१ जना विद्यार्थी घाइते भएका छन्। धान बोकेको ट्याक्टरसँग बस ठोक्किँदा मणिग्रामस्थित शान्ति नमूना माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरू घाइते भएका हुन्।
नवलपरासीबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ८६७५ नम्बरको स्कुल बस र लु ३ त ३५३० नम्बरको ट्याक्टर ओमसतिया गाउँपालिका–४, बसन्तपुरमा एकापसमा ठोक्किएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। विद्यार्थी बोकेर हिँडेको बस र विपरित दिशाबाट आएको ट्याक्टर ठोक्किँदा भएको यो दुर्घटनामा घाइते भएकामध्ये अधिकांशको अवस्था स्थिर रहेको प्रहरीको भनाइ छ।
दुर्घटनामा परेकामध्ये १३ जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ भने ४ जनाको भीम अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्येका अन्य ४ जना भने सामान्य उपचारपछि डिस्चार्ज भई घर फर्किसकेका छन्। प्रहरीले घटनामा संलग्न बस र ट्याक्टर दुवैका चालकलाई नियन्त्रणमा लिएको छ।

