
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौँ क्षेत्र नं. २ मा आफ्नो चुनावी अभियान तीव्र बनाएको छ। अघिल्लो निर्वाचनमा झिनो मतान्तरले पराजित भएकी कुन्ती देवी पोख्रेल यसपटक बहुमतसहित विजयी हुने दाबी गर्दै घरदैलो तथा जनभेटघाटमा सक्रिय रूपमा जुटेकी छन्।
पोख्रेलले चुनावमा पराजित भएपछि पनि क्षेत्र छोडेनन्। महिला शिक्षा, घरेलु सीपमूलक तालिम तथा महिला जागरण अभियानलाई निरन्तरता दिँदै उनी जनतामाझ सक्रिय रहँदै आएकी बताइन्छ। “चुनाव जितेपछि क्षेत्र फर्केर नआउने” भन्ने भाष्यलाई चिर्दै आफू निरन्तर जनतासँगै रहेको उनको दाबी छ।
यसैबीच, काठमाडौँ क्षेत्र नं. २ अन्तर्गत पर्ने कागेश्वरी मनोहरा नगरपालिका र सङ्ग्रामपुर क्षेत्रमा खानेपानी, फोहोर व्यवस्थापन र पूर्वाधार विकासका समस्या चुनावी बहसको केन्द्रमा परेका छन्। स्थानीयवासीका अनुसार पानीको समस्या विकराल बन्दै गएको छ भने कतिपय स्थानमा गहिरो जमिन खनेर पानी निकाल्नुपर्ने अवस्था छ। सङ्ग्रामपुरलाई पर्यटकीय सम्भावना बोकेको सुन्दर क्षेत्रका रूपमा विकास गर्न सकिने भए पनि पर्याप्त बजेट र प्रचार–प्रसार अभाव देखिएको गुनासो छ। हाल सालिनादी मेला सञ्चालन भइरहे पनि यसको प्रभावकारी प्रचार हुन नसकेको स्थानीयको भनाइ छ।
पोख्रेलले केन्द्रबाट आवश्यक बजेट ल्याएर खानेपानी, रोजगारी र पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। युवाहरू वैदेशिक रोजगारीतर्फ पलायन भइरहेकाले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्नुपर्ने उनको भनाइ छ।
आगामी निर्वाचनमा विकास, पानी र रोजगारी प्रमुख मुद्दा बन्ने संकेत देखिएको छ। काठमाडौँ क्षेत्र नं. २ मा यसपटक प्रतिस्पर्धा थप रोचक हुने आकलन गरिएको छ।

