‘सगरमाथा संवाद जलवायु न्यायका लागि हिमालको आवाज उठाउने अवसर’
Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
काठमाडौँ, ३१ चैत: जलवायु परिवर्तन मानव सभ्यताको अस्तित्वमाथिको सबैभन्दा ठूलो चुनौतीका रूपमा देखापरेको छ । यसको प्रत्यक्ष प्रभाव पृथ्वीका सबै भागमा परिरहेको छ । विशेषतः हिमाली क्षेत्रमा यसको प्रभाव अत्यन्त गम्भीर र दिगो खालको देखिन थालेको छ । यस्ता संवेदनशील क्षेत्रमा भइरहेको परिवर्तनले केवल जैविक विविधता र वातावरणलाई मात्र प्रभाव पारिरहेको छैन, यसले हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको जीविकोपार्जन, संस्कृति र मानव अधिकारमासमेत गहिरो प्रभाव पारिरहेको छ ।
यही सन्दर्भमा,सरकारले सन् २०२५ मे १६ देखि १८ सम्म (२०८२ साल जेठ २–४ गते) काठमाडौँमा आयोजना गर्न लागेको सगरमाथा संवाद एक ऐतिहासिक एवं विश्वसामू ध्यानाकर्षण गराउने प्रयास हो । यो कार्यक्रमले हिमालहरू, जलवायु परिवर्तन र मानवताको भविष्यबीचको सम्बन्धबारे विश्वस्तरीय बहस र सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ ।
...










