आलेख : सङ्घीयता कार्यान्वयनसँगै फेरिएको भोजपुरको मुहार
भोजपुर, १४ पुस : देश सङ्घीयतामा गएपश्चात् भोजपुरमा विकासले गति लिएको छ । थुप्रै ऐतिहासिक महत्व बोकेको र विभिन्न कालखण्डमा छुट्टै पहिचान बनाएको भोजपुरले विकासमा भने सोचेअनुसारको फड्को मार्न सकेको थिएन । देश सङ्घीय संचरनामा गएसँगै दुई नगरपालिका र सात वटा गाउँपालिकाले विकासका गतिविधिलाई अघि बढाएका छन् ।
भोजपुर विभिन्न कारणले देशमा परिचित जिल्ला पनि हो । भोजपुरको चिनारी धेरै क्षेत्रबाट लिन सकिन्छ । पहिलो त यो जिल्ला खुकुरीका लागि प्रख्यात छ । त्योसँगै राणाकालमा नेपालभर चाहिने टक (डोली पैसा) छापिएको जिल्ला पनि हो । यहाँ विसं १८७२ सालमा भोजपुर नगरपालिका १२ टक्सारमा तामाको टक अर्थात मुद्रा छापिन्थ्यो । ती मुद्राहरु अहिले पनि भेट्न सकिन्छ । भोजपुर शिक्षाको क्षेत्रमा पनि अग्रस्थानमा रहेको जिल्ला हो । यहाँको दिङ्लामा आबाल ब्रह्मचारी षडानन्द अधिकारीले १९३२ सालमै नेपालकै पहिलो सस्कृत पाठशाला सञ्चाल...








