प्रजातन्त्र संस्कारको रुपमा विकसित हुनुपर्छ
काठमाडौँ, ६ फागुन (रासस): हामी ७५औँ प्रजातन्त्र दिवस मनाउन लागेका छौँ । एउटा अकल्पनीय युग थियो जहानियाँ शासनको । त्यो जहानियाँ राणाशासनको संस्थापक थिए तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणा । उनले जुनसुकै उद्देश्यले आफ्ना सन्तानहरूले मात्र शासन चलाउन पाउने गरी राणाहरूको शासकहरूको क्रम बसाले जसको अन्त्य २००७ सालको जनक्रान्तिले गरेको थियो । त्यसरी एउटा परिवारको हालीमुहालीमा राज्य चलाउने राणा परिवारका विरुद्धमा अन्याय खप्न नसक्ने राणाहरू पनि जनक्रान्तिका पक्षमा लागेको इतिहास भेटिन्छ ।
राणाशासनको विरुद्धमा केही सङ्गठित, केही असङ्गठित प्रयास २००७ सालभन्दा पहिले पनि भएको पाइन्छ, जसको मुख्य आधारका रुपमा १९९७ सालको प्रजापरिषद्को जनविद्रोहको आवाज थियो, जसलाई राणाशासनले कुल्चियो र नेपालका महान् सपूतहरू शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाललाई मृत्युदण्ड दिइएको थियो । ...










