वीरगञ्जमा खानेपानीको सङ्कटः समस्याको दीर्घकालीन समाधानमा जोड
वीरगञ्ज (पर्सा), २५ असार
वीरगञ्ज महानगरमा लामो समयदेखि जारी खानेपानी सङ्कटको दीर्घकालीन समाधानमा महानगरवासीले जोड दिएका छन् । खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्नुभन्दा तत्कालीन रुपमा केही दिन ट्याङ्कर तथा दमकमबाट पानी वितरण गरेर नहुने उनीहरूको भनाइ छ । वीरगञ्ज महानगरले ट्याङ्कर र पर्साको सखुवाप्रसौनी गाउँपालिकाले दमकलबाट पानी ओसारेर आपूर्ति गर्न थालेपछि सर्वसाधारणले दिगो समाधानमा जोड दिएका हुन् ।
वीरगञ्ज महानगरप्रमुख राजेशमान सिंह २०७९ सालको स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुँदा पनि वीरगञ्जमा खानेपानीको समस्या समाधान गर्न लागिपर्ने घोषणा पनि गर्नुभएको थियो । उहाँको चुनावी सभामा पर्साका प्रतिनिधिसभाका सांसद तथा खानेपानीमन्त्री प्रदीप यादवले पनि खानेपानीको दीर्घकालीन समाधान गर्ने घोषणा गर्नुभएको थियो । उहाँ नगरप्रमुखमा निर्वाचित भएको तीन वर्ष बित्दा पनि समस्या यथावत छ । ...










