गुराँसले जोगाउँदै फुङ्लिङको पर्यटन व्यवसाय
फुङ्लिङ (ताप्लेजुङ), १५ फागुनः ताप्लेजुङको वनपाखामा गुराँस फुल्न थालेको छ । गुराँसको यो रङ्गीन छटा सौन्दर्य मात्र होइन, पर्यटन प्रवर्द्धनको सम्भावित अवसर पनि हो । हरेक वर्षजस्तै यसपटक पनि गुराँस फुलेसँगै यहाँका स्थानीय व्यवसायी र पर्यटनसँग सम्बन्धित व्यक्ति आशावादी देखिन्छन् ।
समुद्र सतहबाट तीन हजार मिटर उचाइमा अवस्थित सुकेटार विमानस्थल आसपासका क्षेत्रमा गुराँस फुलेर वनजङ्गल राताम्य देखिन्छन् । यसले प्रकृति प्रेमीलाई लोभ्याउँछ, बरु पर्यटन उद्योगसमेतमा सकारात्मक प्रभाव पार्छ । गुराँस फुल्ने मौसममा व्यापार बढ्ने स्थानीयको भनाइ छ ।
गुराँस हेर्नका लागि मानिस टाढा–टाढाबाट आउँछन् । यहाँ आउनेहरू गुराँससँग रमाउने मात्र नभई सोही कारणले व्यवसायलाई पनि टेवा पुगेको छ । गतवर्ष भन्दा यस वर्ष केही समय छिटो गुराँस फुलेको फुङ्लिङ नगरपालिका–७ का एलबी राईले बताउनुभयो ।
...










