Wednesday, April 15News That Matters

रियादस्थित नेपाली राजदूतावासमा गणतन्त्र दिवस २०८२ भव्यताका साथ सम्पन्न

बिपुल ढुङ्गाना रियाद, साउदी अरेबिया —

 

रियादस्थित नेपाली राजदूतावासले गणतन्त्र दिवस २०८२ को अवसरमा एक विशेष समारोह आयोजना गर्दै राष्ट्रिय गौरव र लोकतान्त्रिक मूल्यमान्यतालाई उल्लासपूर्वक मनाएको छ। समारोहको सुरुवात नेपाली राष्ट्रिय गानबाट गरियो भने ज्ञात-अज्ञात शहीदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो। त्यसपछि महामहिम नेपाली राजदूत डा. नरेश विक्रम ढकालले पानसमा दियो बालेर कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभयो।

कार्यक्रममा गैर आवासीय नेपाली संघ, साउदी अरेबियामा क्रियाशील राजनीतिक दलका भातृ संगठनहरू, जातीय, सामाजिक, भौगोलिक तथा परोपकारी संस्थाका प्रतिनिधिहरू, नेपाली पत्रकार, राजदूतावासका कर्मचारीहरू, र साउदीमा कार्यरत विभिन्न पेसाका झन्डै १३५ जना नेपालीहरूको उपस्थिति रहेको थियो। राजदूत ढकालको सम्बोधन र गणतन्त्रको महत्त्वमाथि प्रकाश समारोहलाई सम्बोधन गर्दै महामहिम राजदूत डा. ढकालले उपस्थित सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई गणतन्त्र दिवसको शुभकामना व्यक्त गर्नुभयो।

उहाँले नेपालको गणतान्त्रिक यात्राबारे प्रकाश पार्दै वि.सं. २०६५ जेठ १५ गते संविधान सभाबाट राजतन्त्रको अन्त्य भई गणतन्त्रको स्थापना भएको ऐतिहासिक क्षणको स्मरण गराउनुभयो। राजदूतले लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको बलिदानीपूर्ण संघर्षको परिपाक भएको स्पष्ट पार्नुभयो। राजदूत ढकालले नागरिक अधिकार, स्वतन्त्रता, समानता र न्याय प्राप्तिका लागि गरिएको संघर्षको सार लोकतान्त्रिक गणतन्त्रमा समेटिएको बताउनुभयो। उहाँले अब कुनै विशेष कुल वा वंशको नभई जनताको निर्णयअनुसार नेतृत्व चयन हुने सर्वोत्तम प्रणाली नै लोकतान्त्रिक गणतन्त्र भएको धारणा राख्नुभयो। साथै, गणतन्त्रलाई संस्थागत गर्न सबै पक्षले जिम्मेवारी बहन गर्नुपर्ने र अधिकारसँगै कर्तव्यलाई पनि प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।

कार्यक्रम सञ्चालन र अन्य उपस्थिति कार्यक्रमको सञ्चालन प्रथम सचिव श्री टोप नारायण गिरीले गर्नुभएको थियो भने श्रम काउन्सेलर श्री कविराज उप्रेतीले स्वागत मन्तव्य दिनुभयो। विभिन्न संघसंस्था तथा राजनीतिक प्रतिनिधिहरूले पनि शुभकामना व्यक्त गर्दै लोकतन्त्रका विविध पक्षबारे आफ्ना धारणा राखेका थिए। यसै अवसरमा बिहानै राजदूतावास परिसरमा झन्डोत्तोलन कार्यक्रम आयोजना गरिएको थियो, जहाँ महामहिम राजदूतले लोकतान्त्रिक गणतन्त्रको महत्त्वबारे पुनः प्रकाश पार्दै शुभकामना व्यक्त गर्नुभयो। गणतन्त्र दिवसको सम्मानमा राजदूतावास परिसरमा तीन दिनसम्म दीपावली (प्रकाश सजावट) गरिएको जानकारी पनि दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *