ऐतिहासिक स्थल अजयमेरुकोटको उत्खनन गरिँदै

अमरगढी (डडेल्धुरा), ८ फागुनः यहाँको अजयमेरु गाउँपालिकास्थित डोटेली राज्यको इतिहास बोकेको अजयमेरुकोटको उत्खनन सुरु गरिएको छ । पुरातत्व विभागको टोलीद्वारा उक्त कोटको उत्खनन सुरु गरिएको हो ।

उत्खननका लागि गाउँपालिकाले रु ९० लाख विनियोजन गरेको थियो । सो बजेटको सहयोगमा पुरातत्व विभागको टोलीले २३ दिनदेखि उत्खनन गरिरहेको छ ।

अजयमेरुकोट कत्युरी राजवंशको उत्कृष्ट कलाशैलीमा निर्माण गरिएको पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत एवं पुरातत्वविद् भाष्कर ज्ञवालीले बताउनुभयो । पहिलो पटक उत्खनन गरी अध्ययन, अनुसन्धान सुरु गरिएको यहाँको कलाकृति र निर्माण शैली फरक भएका कारण यो कत्युरी राजवंशको प्रभाव क्षेत्र रहेको उहाँले बताउनुभयो ।

अधिकृत ज्ञवालीका अनुसार उत्खननका क्रममा भग्नावशेषको ‘नम्बरिङ’ गर्ने काम भइरहेको छ । उहाँले भन्नुभयो, “अजयमेरुकोटको विशिष्ट कलाकृति र निर्माणशैली कर्णाली नदी पूर्वका देवल भन्दा फरक छ ।”

उत्खनन्मा प्राप्त विवरण अनुसार बिचमा मण्डप बनाएर दायाँबायाँ देवल बनाउने शैली छ । बैठक कक्ष र नाउला विशिष्ट किसिमका छन । अजयमेरु कोटलाई विश्व सम्पदा सूचीमा समावेश गराउने प्रयासस्वरूप पुरातत्व विभागको अर्को टोलीले थप अध्ययन गर्ने उहाँले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले अजयमेरुकोट जस्ता ऐतिहासिक तथा पर्यटकीयस्थलको संरक्षण र प्रवर्द्धनमा तीनै तहका सरकारको ध्यान जानुपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकार यस्ता कार्यक्रममा आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।

अजयमेरु कोट संरक्षणको महत्व अझ बढ्दै गएकाले स्थानीय तहले सङ्घ र प्रदेश सरकारबाट थप बजेट तथा आवश्यक सहयोग माग गरेको अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश भट्टले बताउनुभयो ।

अजयमेरुकोटको स्थापना १३औँ शताब्दीको उत्तराद्र्धमा कत्युरी वंशका दुई भाइ राजकुमार सहस्त्रपाल र निरयदेव पालले सिञ्जा राज्यसँग लडाइँ गरी जितेर स्वतन्त्र राज्य घोषणा गरी कोट स्थापना गरेको किम्बदन्ती छ ।

एकथरिले यस कोटलाई राजा नागी मल्लद्वारा निर्माण गरिएको पनि भन्ने गरेका छन् । यद्यपि प्रमाणहरुले यो कोट कत्युरी वंशजका पाल राजाले निर्माण गरेको पुष्टि भएका छन् । रैका राजवंशका नागी मल्लले विसं १४४१ मा अजयमेरुलाई कब्जा गरेपछि मात्रै अजयमेरुकोट नागी मल्लको कोटका रूपमा चिनिएको बताइन्छ । यस ठाउँमा राजा निरयपालदेवका ताम्रपत्र र विसं १४१९ सम्मका शिलालेखहरू पाइन्छन् ।

अजयमेरुकोटमा प्राचीन दरबारको भग्नावशेष, नाउला, देवल, वीरखम्ब, कलात्मक सिलिङ, राजाको बैठकस्थलसहितका ऐतिहासिक वस्तु छरिएर रहेका छन् । हाल अजयमेरुमा रहेका तीन नाउलामध्ये दुई नाउलाको भग्नावशेष मात्र छन् । एक नाउला पानी खान प्रयोग भइरहेको छ । ढुङ्गे देवल र नाउलामा कुँदिएका कलात्मक मूर्तीले प्राचीन वास्तुकला झल्काउँछ ।

अजमेरुकोटको मुख्य दरबार भएको स्थानको डाँडालाई गाड (खोला)ले घेरेको छ । तल गाड देखि माथि कोट भएको स्थानमा पुग्न १५–२० मिनेट उकालो उक्लनुपर्छ । कोट भएको डाँडामाथि दरबार र राजाका भाइभारदार बस्ने हवेली भग्नावशेषका रूपमा देखिन्छन् ।

दरबारको संरचना सबै भत्केको अवस्थामा छ । बन्ने बेलामा मुख्य दरबार सात तलाको थियो भनिन्छ । सबैभन्दा माथिल्लो तलाबाट उत्तराखण्डमा कत्युरी राजाबाट निर्माण गरिएको कत्युरी राजवंशको कुलदेवी जगदम्बा भगवतीको मन्दिरको दर्शन गर्ने र जल चढाउने गरिन्थ्यो ।

यही छेउतिर राजाका घोडा बाँध्ने स्थान छ । यसलाई स्थानीयवासी ‘घोलिडाँस’ (घोडाको तबेला) भन्ने गर्छन् । दरबारस्थलको पूर्व–दक्षिणबाट तल गाड (खोला) भएको स्थान सम्म रानीले पानी भर्न र नुहाउन जाने जमिन भित्रबाट कोरेर ढुङ्गाले चिनेर माथिबाट बन्द भएको कोट देखि गाडसम्म जाँदा अँध्यारो नहोस् भन्ने उद्देश्यले बनाएका २५ वटा झ्यालसहितको प्राचीन सुरुङ छन् ।

कोट स्थलदेखि गाडको किनारमा दरबारका मान्छेको बैठक स्थल छ । यसलाई स्थानीयवासी ‘ओखडेकी माँडौ’ भन्छन् । गाडको केहीमाथि दुईवटा देवल छन् यसै करपुटार खेतको सिरानमा पानी खाने तीन वटा प्राचीन नाउला छन् । यो स्थल ऐतिहासिक मल्लकालको दरबार अवलोकनका लागि प्रसिद्ध छ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

HONOR ले Qualcomm को प्रायोजन मार्फत Manchester United संग सहकार्य:

HONOR ले Qualcomm को प्रायोजन मार्फत Manchester United संग सहकार्य:

Magic7 Pro को AI Photo Upscale द्वारा 115 वर्षको Manchester United इतिहासलाई जीवन्त बनाउँदै पुराना तस्वीरलाई नयाँ जीवन: AI Photo...
महालक्ष्मी विकास बैंक द्वारा वातावरण र संस्कृति, सम्पदा संरक्षण तथा दिगो बैंकिङका लागि वाकाथन सम्पन्न

महालक्ष्मी विकास बैंक द्वारा वातावरण र संस्कृति, सम्पदा संरक्षण तथा दिगो बैंकिङका लागि वाकाथन सम्पन्न

महालक्ष्मी विकास बैंकले मिति २०८१ फागुन १५—१६ गते बैंकको वार्षिक कार्यक्रम तथा दुइदिने कार्यशाला अन्तर्गत दिगो बैंकिङ, संस्कृति तथ...
म्याग्दीको प्रभुुचेलामा सामुदायिक ‘ध्यान केन्द्र’ स्थापना

म्याग्दीको प्रभुुचेलामा सामुदायिक ‘ध्यान केन्द्र’ स्थापना

म्याग्दी, १८ फागुनः मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा सामुदायिक ध्यान केन्द्र स्थापना भएको छ । परापूर्वकालमा ऋषिमुनिहरूले तपस्य...
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

मध्यविन्दु (नवलपरासी), १८ फागुनः नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ बगुवनकी धनिसरा सिञ्जाली हिजोआज व्याव...